मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
काठमाडौँ। काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन्। त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।
मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए।
चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।
