बेत्रावती सडकमा पैदल यात्रुसमेत रोकियो, २ घण्टामा १५ मिनेट मात्रै बाटो खुल्ने
काठमाडौं । गल्छी-रसुवागढी सडकअन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्मको खण्डमा ट्र्याक खोल्ने काम चलिरहेकाले पैदल यात्रुसमेत रोकिएको छ।
गल्छी-त्रिशूली-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हरेक दुई घण्टामा १५ देखि २० मिनेट मात्रै पैदल यात्रुलाई आवतजावत गर्न दिइनेछ।
ट्र्याक खोल्ने क्रममा पैदल यात्रु जुनसुकै बेला निर्माणस्थलबाट ओहोरदोहोर गर्दा काम प्रभावित हुनुका साथै सुरक्षा जोखिमसमेत बढेको योजनाको भनाइ छ।
त्यस्तै, यस खण्डमा सडक खुलाउन मेसिन र विस्फोटक पदार्थ प्रयोग गरेर काम भइरहेको छ। बाढीले क्षति पुर्याएको सडक पुनः जोड्ने क्रममा उत्तरगया स्कुलनजिकको भीर प्रमुख अवरोधका रूपमा रहेको छ।
निर्माणस्थलमा दुर्घटनाको जोखिम भएकाले रातको समयमा समेत उक्त खण्डमा यात्रा नगर्न यात्रुलाई सूचित गरिएको छ।
साथै, बाढीपछि नुवाकोट र रसुवाबीचको सिधा सडक सम्पर्क टुटेको छ। बेत्रावतीसम्म ट्र्याक खुलेपछि फलाखु खोलामा बेलिब्रिज जडान गरी दुई जिल्लाबीच सडक सम्पर्क जोड्ने तयारी छ।
