`

ट्रम्पद्वारा फ्लाईदुबईका भारतीय क्याप्टेनको प्रशंसा

Nepal One HD १५ असोज २०८३ ११:५८
विश्व

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह-पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस र संयम प्रदर्शन गरेका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गरेका छन्। उनले

घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको जानकारी दिँदै आक्रमणकारी सम्भावित आतंकवादी वा मानसिक रूपमा असामान्य व्यक्ति हुन सक्ने टिप्पणी गरेका छन् ।
फ्लाईदुबईको एफजेड-१०७३ उडानका क्रममा सह-पाइलटले ककपिटभित्रै क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेका थिए । आक्रमणपछि विमान हजारौँ फिट तल झरेको थियो । त्यसपछि यात्रु र चालक दलका सदस्यले हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो ।

ट्रम्पका अनुसार गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएका थिए । त्यसपछि यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । उडानसम्बन्धी अनुभव नभएका एक इजरायली यात्रु यानिव हयुनसमेत ककपिटमा पुगेर आक्रमणकारीलाई पाइलटको सिटबाट हटाउन सहयोग गरेका थिए ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले हयुनलाई ‘साँचो नायक’ भन्दै उनको साहसको प्रशंसा गरेका छन् । इजरायलको विदेश मन्त्रालयका अनुसार विमानमा सवार १७४ जनाको ज्यान जोगाउन क्याप्टेन, यात्रु र चालक दलका सदस्यहरूको संयुक्त प्रयास महत्त्वपूर्ण बनेको थियो ।

त्यस्तै, इजरायलस्थित भारतीय दूतावास तथा भारतका लागि इजरायली राजदूत रुभेन अजारले क्याप्टेन मच्छरको साहस, संयम र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । संयुक्त राज्य अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले पनि क्याप्टेन मच्छरसहित अन्य यात्रुको प्रयासले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुगेको बताएका छन् ।

क्याप्टेन मच्छरसँग १३ वर्षभन्दा बढीको व्यावसायिक उड्डयन अनुभव रहेको बताइएको छ । उनले बोइङ–७३७ विमानमा करिब ९ हजार ७५० घण्टा उडान गरिसकेका छन् । फ्लाईदुबईमा आबद्ध हुनुअघि उनले भारतीय एयरलाइन्समा ११ वर्ष काम गरेका थिए ।

साथै, घटनाको अनुसन्धान जारी रहेकाले फ्लाईदुबईले इजरायल जाने तथा इजरायलबाट हुने आफ्ना उडानहरू अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *