`

नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

Nepal One HD १५ असोज २०८३ १२:०९
खेलकुद

काठमाडौं । नेपालले आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने १५औँ संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको सेप्टेम्बर ३० सम्मको समयसीमाभित्र अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो।

एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले गत असार १० गते एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो। निलम्बनपछि नेपालले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ। यही क्रममा साफको ३३ वर्षे इतिहासमा नेपाल पहिलोपटक प्रतियोगिताबाट बाहिरिने भएको हो।

साफले यसअघि सेप्टेम्बर ३० सम्म एन्फामाथिको निलम्बन फुकुवा भए नेपाललाई समेत समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो। तर, तोकिएको समयसीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपाल साफमा सहभागी हुन नपाउने भएको हो।

त्यस्तै, यसपटक साफ च्याम्पियनसिपमा ६ टोली सहभागी हुँदैछन्। समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् भने समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्स छन्। निलम्बन फुकुवा भएको अवस्थामा नेपालले समूह ‘ए’ बाट प्रतियोगिता खेल्ने थियो।

नेपालले साफका यसअघिका सबै १४ संस्करणमा सहभागिता जनाएको थियो। नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो भएको छ भने पाँचपटक सेमिफाइनलसम्म पुगेको छ। तर, यसपटक सहभागिता जनाउन नपाउँदा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर गुमाउने भएका छन्।

पूर्वराष्ट्रिय कप्तान, प्रशिक्षक तथा एन्फाका पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंहले साफ खेलाडीका लागि दक्षिण एसियामा आफ्नो क्षमता प्रदर्शन गर्ने र व्यावसायिक अवसर खोज्ने महत्वपूर्ण मञ्च भएको बताए। उनका अनुसार प्रतियोगिताबाट वञ्चित हुँदा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय एक्सपोजर र व्यावसायिक अवसरमा असर पर्नेछ।

सिंहले एन्फाभित्रको विवाद र राजनीतिक हस्तक्षेपका कारण नेपाली फुटबल अहिलेको अवस्थामा पुगेको धारणा राखेका छन्।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मंगलबार नेपालले यसपटक साफ खेल्ने सम्भावना न्यून रहेको संकेत गरेका थिए। साफ सुरु हुनुअघि निलम्बन फुकुवा गराउन ढिला भइसकेको भन्दै उनले अब घरेलु लिग सञ्चालनको तयारीमा सरकार केन्द्रित भएको बताएका थिए।

एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ भन्ने प्रश्नमा मन्त्री पोखरेलले साफअघि नै ढिला भइसकेको बताएका थिए। निलम्बन फुकुवा नभए घरेलु लिग सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो। यसअघि भने उनले फिफासँग सकारात्मक छलफल भइरहेको र निलम्बन छिट्टै फुकुवा हुने बताउँदै आएका थिए। तर, फिफाबाट अपेक्षित जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अघि बढाउने तयारीमा लागेको हो।

यसैबीच, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ। साथै, अनुसन्धान अघि बढेसँगै एन्फाका केही पदाधिकारी सम्पर्कविहीन रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *