`

भुटानमाथि गण्डकी-११ को लगातार दोस्रो जित

Nepal One HD १४ असोज २०८३ १३:५४
खेलकुद

पोखरा । भुटानको राष्ट्रिय क्रिकेट टोलीविरुद्ध गण्डकी–११ ले लगातार दोस्रो जित निकाल्दै दुई खेलको शृंखला क्लिन स्वीप गरेको छ ।

आज भएको खेलमा गण्डकी–११ ले भुटानलाई ६४ रनले पराजित गरेको हो ।

टस जितेर भुटानले गण्डकी–११ लाई पहिले ब्याटिङको निम्तो दिएको थियो । सुरुवातमै दबाबमा परेको गण्डकीले ४५ रन बनाउँदा चार विकेट गुमाएको थियो । त्यसपछि भने ब्याटरहरूले आक्रामक प्रदर्शन गर्दै टोलीको स्कोर २० ओभरमा ७ विकेटको क्षतिमा १९६ रनसम्म पुर्‍याए ।

गण्डकीका सिब्रिन श्रेष्ठ, करण पंगेनी र सन्दीप खत्रीले आक्रामक ब्याटिङ गर्दै टोलीको इनिङ सम्हाले । सिब्रिनले २४ बलमा ४५ रन बनाए भने करणले २७ बलमा ४५ रन जोडे । सन्दीपले ९ बलमै ३० रन बनाए । दीपक डुम्रेले १० बलमा १९ रनको योगदान दिए । ओपनर अर्जुन कुमाल भने ३ बलमा २ रन बनाएर आउट भए ।

भुटानका थिनले जम्त्सोले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए । सोनाम यासेले दुई विकेट हात पारे ।

१९७ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित ओभर पूरा गर्नुअघि नै सबै विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सकेन । भुटानका सोनम छोपेलले २१ बलमा ४३ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका टासी दोर्जेले ११ बलमा ३१ रनको आक्रामक इनिङ खेले ।

गण्डकीका कप्तान विपन खत्रीले चार ओभरमा चार विकेट लिए । दीपक डुम्रेले तीन ओभरमा तीन विकेट हात पारे ।

यसअघि पहिलो खेलमा पनि गण्डकी–११ ले भुटानलाई पराजित गरेको थियो । दुई खेलमा जित निकाल्दै गण्डकीले शृंखला क्लिन स्वीप गरेको हो ।

अब भुटानले क्यान–११ विरुद्ध खेल्नेछ । क्यान-११ र भुटानबीचको खेल भोलि पोखरा रंगशालामा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *