`

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

Nepal One HD १४ असोज २०८३ ७:५५
खेलकुद

काठमाडौँ। बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ ।

यस्तै, महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन्। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापामगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले खेलाडीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताउनुभयो ।यस्तै, जुडोमा निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

निशाले महिला ४८ केजीमुनि, देवकीमायाले ५२ केजीमुनि तथा विशेषले पुरुष ६६ र विकासले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।कनोइङ स्लालमको पुरुष कायक एकलमा विजय माझी र आशिष रानामगर सेमिफाइनलमा पुगेका छन् ।

मङ्गलबार भएको हिट चरणमा विजयले २०२.०६ सेकेन्ड र आशिषले २११.८६ सेकेन्डको समय निकाल्दै क्रमशः १५औँ र १६औँ स्थान हासिल गरेका थिए ।जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *