स्थानीय चुनाव : ७५३ पालिका धाउँदै रास्वपा
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा अभियान सञ्चालन गर्ने भएको छ ।
संघीय संसद्को चालु अधिवेशन सकिएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यहरू पालिका तहमा पुग्ने पार्टीले जनाएको छ । अभियानअन्तर्गत सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्नेछन् ।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका गुनासा र सुझाव सुन्नुका साथै पार्टीका आगामी योजना र स्थानीय निर्वाचनसम्बन्धी तयारीबारे जानकारी गराउनु हो ।
उनका अनुसार अभियानका क्रममा मुख्यतः दुई विषयमा केन्द्रित भएर नागरिकसँग संवाद गरिनेछ । पहिलो, स्थानीय तहको कामकारबाही तथा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने पार्टीको विधिबारे जानकारी गराइनेछ । दोस्रो, वर्तमान सरकार गठन भएयता संसद् र सरकारमार्फत भएका नीतिगत तथा अन्य पहलका विषयमा नागरिकलाई जानकारी दिइनेछ ।
स्थानीय तह नागरिकको दैनिक जीवन र विकास निर्माणसँग प्रत्यक्ष जोडिने सरकारको तह भएकाले स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक प्रक्रियाबारे नागरिकलाई जानकारी गराउने रास्वपाले जनाएको छ ।
डाँगीका अनुसार आगामी फागुनमा हुने स्थानीय तह निर्वाचनका लागि सक्षम, इमानदार र नेतृत्व गर्न इच्छुक व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने प्रक्रिया पनि अभियानका क्रममा स्पष्ट पारिनेछ । रास्वपाले यसअघि उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ तथा लोकतान्त्रिक छनोट प्रक्रियाको अवधारणा अघि सारेको थियो ।
अभियानमार्फत सरकारले पछिल्लो करिब ६ महिनामा गरेका कामबारे पनि जानकारी गराइने पार्टीले जनाएको छ । संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयनको अवस्था तथा आगामी योजनाबारे नागरिकलाई जानकारी दिने रास्वपाको तयारी छ ।
रास्वपाले यो अभियानलाई स्थानीय तह निर्वाचनको तयारीसँगै नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमका रूपमा अघि सारेको जनाएको छ ।
