देउवा महाधिवेशन उद्घाटनमा आउँदैछन्?
काठमाडौं। नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा सहभागी हुने सम्भावना नरहेको बताएका छन्।
संस्थापन पक्षले १८ गते काठमाडौंमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरिरहेको छ। सहमति जुटाउने प्रयासस्वरूप सभापति गगन थापासहितका नेताहरूले देउवालाई उद्घाटन कार्यक्रममा बोलाउने बताइरहेका बेला महतले भने त्यस्तो सम्भावना नरहेको दाबी गरेका हुन्।
पोखरामा रहेका महतले देउवा उद्घाटनमा आउने भनेर भइरहेको प्रचारप्रति आपत्ति जनाउँदै त्यस्तो दाबीलाई ‘झूटो प्रचार’ को संज्ञा दिए।
उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाले आफूले १५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने कुरा पहिल्यै स्पष्ट गरिसकेका छन्।
महतले देउवा समूहले अघि सारेको महाधिवेशन प्रक्रियालाई नै कांग्रेसको आधिकारिक प्रक्रिया भएको दाबीसमेत गरे। उनका अनुसार वडा तहबाट सुरु हुने अधिवेशन पनि यही प्रक्रियाअन्तर्गत अघि बढ्नेछ।
महतले कांग्रेसको आगामी महाधिवेशन निष्पक्ष र पारदर्शी हुनुपर्ने आफ्नो पक्षको माग रहेको बताए।
उनका अनुसार नेतृत्व हस्तान्तरणको विषयमा आफूहरूको कुनै असहमति नरहे पनि महाधिवेशनमा सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग राखिएको थियो। तर संस्थापन पक्षले त्यसलाई गम्भीर रूपमा नलिएको उनको आरोप छ।
‘१५औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष र पारदर्शी ढंगबाट चयन होस्, सबैको सम्मानजनक सहभागिता होस् भन्ने हाम्रो माग थियो। त्यसलाई उहाँहरूले गम्भीरतापूर्वक लिनुभएन,’ महतले भने।
त्यसपछि आफूहरू न्यायिक प्रक्रियामा जान बाध्य भएको उनको भनाइ छ।
महतले यसअघिको अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै आफूहरूले त्यसविरुद्ध पुनरावेदन गरेको बताए।
सर्वोच्च अदालतले आफ्नो पक्षलाई निस्सा दिएको प्रसंग उल्लेख गर्दै उनले यसलाई आफूहरूको दाबीमाथि न्यायिक परीक्षणको बाटो खुलेको रूपमा व्याख्या गरे।
‘हामी एउटा सत्यको पक्षमा उभिएका छौँ। सत्यको अवश्य पनि जित हुन्छ,’ महतले भने, ‘अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ। नेपालमा अझै न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ।’
उनले न्यायिक प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वाससमेत व्यक्त गरे।
कांग्रेसभित्र अहिले महाधिवेशनको मिति, प्रक्रिया र वैधानिकतालाई लिएर दुई धारबीच विवाद छ। यही विवादका बीच दुवै पक्षले आआफ्नो सांगठनिक गतिविधि अघि बढाइरहेका छन्।
आगामी अधिवेशनले कांग्रेसको नेतृत्व र संगठनात्मक संरचनालाई नयाँ मोड दिने भएकाले विवाद थप चर्किएको छ।
