कांग्रेस महाधिवेशन केही दिन सर्न सक्ने
काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको मिति केही दिन पर सार्ने तयारी गरेको छ । लगातारको खराब मौसमका कारण क्षेत्रीय अधिवेशन प्रभावित भएपछि महाधिवेशनको मिति समेत पुनः तय गर्ने तयारी भएको हो ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको थियो । तर, बाढीपहिरोलगायतका कारण जनजीवन प्रभावित भएपछि निर्धारित मितिमा महाधिवेशन गर्न कठिनाइ हुने देखिएको पार्टीले जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको मिति सार्ने विषयमा बुधबार शीर्ष तहमा छलफल हुँदैछ । उनका अनुसार विभिन्न जिल्लाको वस्तुस्थिति अध्ययन गरेर महाधिवेशनबारे निर्णय गरिनेछ ।
‘बाढीपहिरोले जनजीवन प्रभावित भएपछि हाम्रो राजनीतिक कार्यक्रमलाई पनि प्रभाव पारेको छ । क्षेत्रीय अधिवेशनहरू सकिएका छैनन्,’ चालिसेले भने, ‘भोलि जिल्लाजिल्लाको वस्तुस्थिति अध्ययन गरेर निर्णय गर्छौँ । सम्भवतः भोलि नयाँ सूचना आउँछ ।’
उनले पार्टीको विधान र अदालतको आदेशलाई समेत ध्यानमा राखेर महाधिवेशनको नयाँ मिति तय गरिने बताए । महाधिवेशन बढीमा एक साताभन्दा पर नधकेल्ने गरी छलफल भइरहेको कांग्रेसले जनाएको छ ।
यसैबीच, पूर्वसभापति शेरबहादुर देउवा समूहले भने मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको बताइएको छ ।
