`

नारायणीको बाढीले विद्यालय हिलाम्मे, शिक्षक-विद्यार्थी नै सफाइमा

Nepal One HD १४ असोज २०८३ १२:३७
फोटोफिचर

चितवन। नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय हिलाम्मे बनाएको छ। कक्षाकोठामा लेदो र माटो भरिएपछि पठनपाठन रोकिएको छ।

असोज ८ देखि चार दिनसम्म परेको वर्षासँगै विद्यालयमा बाढी पसेको हो। बाक्लो माटो जमेकाले साबेलले समेत सफा गर्न कठिन भएको विद्यालयले जनाएको छ। स्थानीय बासिन्दा आफ्नै घरको हिलो पन्छाउन व्यस्त रहेकाले मजदुरसमेत पाउन समस्या भएको छ।

सरसफाइका लागि विद्यालयले वडा कार्यालय, भरतपुर महानगरपालिका, शैक्षिक शाखा र नेपाली सेनाको ब्यारेकलगायत निकायसँग सहयोग मागे पनि जनशक्ति उपलब्ध नभएको गुनासो छ। महानगरको दमकलले विद्यालयको पेटी सफा गरे पनि कक्षाकोठा अझै हिलाम्मे छन्।

प्रधानाध्यापक शान्ता अधिकारीका अनुसार विद्यालयले हरेक वर्षजसो बाढीको समस्या झेल्दै आएको छ। अघिल्ला बाढीले कक्षा ३ को भुइँसमेत भासिएर जोखिमपूर्ण बनेको छ।

विद्यालय बन्द हुँदा १ सय २० विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाह्य सहयोग नआएपछि केही विद्यार्थी शिक्षक र कर्मचारीसँगै साबेल तथा बाल्टी बोकेर विद्यालयको हिलो पन्छाउन जुटेका छन्।


 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *