बिमस्टेक बैठकमा सहभागी भएर स्वदेश फर्किइन् मन्त्री मेहता (भिडियाे)
काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य सेवाको विकास र क्षेत्रीय रूपमा स्वास्थ्य क्षेत्रलाई थप सबल बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।
उनका अनुसार बैठकमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभाव तथा पारस्परिक चिकित्सालाई प्रवर्द्धन र विकास गर्ने विषयमा समेत गहन छलफल भएको थियो ।
त्यस्तै, बैठकका क्रममा श्रीलंकाका प्रधानमन्त्रीसँग भेटघाट हुनुका साथै बिमस्टेकका सातवटै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग आयोजित विभिन्न साइड इभेन्टमा समेत सहभागी भएको उनले बताइन् ।
साथै, क्यान्सरलगायतका घातक रोगका औषधिको अभाव र बढ्दो लागतलाई ध्यानमा राख्दै बंगलादेशसँग सरकार-सरकार (जी-टु-जी) सहकार्यमार्फत औषधिको मूल्य घटाउने तथा सहज उपलब्धता सुनिश्चित गर्ने विषयमा पहल गरिएको मन्त्री मेहताले जानकारी दिइन् ।
