`

न्युयोर्कमा तीनतले भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

Nepal One HD २७ कार्तिक २०८३ १३:०६
विश्व

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा निर्माणस्थल नजिकै तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

निर्माणस्थलमा उत्खननको काम भइरहेका बेला नजिकै रहेको तीनतले भवन अचानक भत्किएर खसेको थियो । भवन भत्किएपछि भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि २५० भन्दा बढी अग्निनियन्त्रक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धार कार्यमा ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।

त्यस्तै, अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरका अनुसार भग्नावशेषभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी राखिएको छ ।

भवन विभागका आयुक्त अहमद तिगानीले निर्माणस्थलमा कामदारहरूले उत्खनन गरिरहेका बेला भवन भत्किएको जानकारी दिएका छन् । उनका अनुसार उक्त स्थानमा तीनतले भवन निर्माणका लागि अनुमति दिइएको थियो । तर, विकासकर्ताले भने त्यहाँ नौतले भवन निर्माण गर्ने अनुमति मागेका थिए ।

साथै, भवन भत्किनुको वास्तविक कारण खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *