सशस्त्रको एआईजी बन्न तीन डीआईजीबीच प्रतिस्पर्धा
काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएसँगै बढुवाका लागि तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा हुने भएको छ ।
एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त भएपछि रिक्त भएको पदमा डीआईजीहरू सुरेश कुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा बढुवाका मुख्य दाबेदारका रूपमा देखिएका छन् ।
गृह मन्त्रालयले दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरेको थियो । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले उनलाई असोज १९ गते निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको थियाे ।
त्यस्तै, दाहमालमाथि छानबिन गर्न एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा एक सदस्यीय समिति गठन गरिएको थियो । समितिले दाहालसँग बयान लिनुका साथै अनुसन्धान गरी प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले पटक-पटक आचरणसम्बन्धी नियम उल्लङ्घन गरेको, अनुशासनहीन गतिविधि गरेको तथा सङ्गठन र सरकारको प्रतिष्ठामा आँच पुर्याएको उल्लेख गरिएको थियो ।
दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूर्वस्वीकृतिबिना भेटेको तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपसमेत लागेको थियो । प्रहरी हिरासतमा रहेका इनम सापकोटासँगको सम्पर्कलाई लिएर पनि उनीमाथि प्रश्न उठेको थियो ।
दाहाल बर्खास्तीमा परेसँगै रिक्त भएको एआईजी पदमा बढुवाका लागि अब तीन डीआईजीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
वरीयतामा सुरेश कुमार श्रेष्ठ अगाडि छन् । उनी हाल सीमा सुरक्षा विभागमा कार्यरत छन् । त्यस्तै, दीपेन्द्र शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुखका रूपमा कार्यरत छन् भने पुरुषोत्तम थापा सशस्त्र प्रहरी एकेडेमीमा छन् ।
यी तीनमध्ये एक जनाले एआईजीमा बढुवा पाउनेछन् । त्यसका लागि सशस्त्र प्रहरी बलले बढुवा प्रक्रिया अघि बढाउँदै सम्भाव्य उम्मेदवारसँग आवेदन माग गर्नेछ । आवेदन दिएका उम्मेदवारको मूल्याङ्कनपछि बढुवा समितिले बढुवाका लागि सिफारिस गर्नेछ ।
साथै, बढुवा समितिको सिफारिसप्रति चित्त नबुझेमा सम्बन्धित उम्मेदवारले नियमावलीअनुसार सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था छ ।
