`

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै

Nepal One HD २७ कार्तिक २०८३ ८:१५
राजनीति

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज डिल्लीबजार कारागारबाट थुनामुक्त हुँदै छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई चार वर्ष कैद सजाय पाएका रायमाझीले तीन वर्ष ६ महिना कैद भुक्तान गरेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअनुसार छुट पाएका हुन्।

६५ वर्ष उमेर पूरा भएपछि रायमाझीले कैद छुटको सुविधा माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए। उनले निवेदनसँगै आफ्नो उमेर पुष्टि हुने आवश्यक कागजातसमेत पेस गरेका थिए। अदालतको आदेशअनुसार उनलाई आजै रिहा गर्न पठाइएको पत्र डिल्लीबजार कारागार पुगिसकेको छ।

रायमाझी २०८० वैशाख ३१ गतेदेखि कारागारमा थिए। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौंले २०८३ असार ३० गते उनलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो।

उनलाई ठगी, राज्यविरुद्धको कसुर र संगठित अपराधमा दोषी ठहर गरिएको थियो। गत कात्तिक १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्था अनुसार कैद छुट प्रदान गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *