`

ज्ञानेन्द्रसँग नझुकेका गगन बालेनसँग झुक्लान् ?

समिन बरुवाल २० कार्तिक २०८३ १८:१३
नेपाली कांग्रेस

काठमाडौं। गगनकुमार थापा, अर्थात् गणतन्त्रका पोस्टर ब्वाई। गणतन्त्र स्थापनाको आन्दोलनमा गगनको पनि रगत मिसिएको छ। राजा ज्ञानेन्द्रसँग उनी झुक्दै झुकेनन्। बरु, ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध क्रान्तिको तुफान ल्याउने योद्धा बने। ज्यानको बाजी थापे। उनै गगन के बालेनसँग झुक्लान् ? बालेनप्रति उनको आत्मसमर्पण होला ? चौतर्फी चासोको विषय बनेको छ।

गगन तिनै पात्र हुन्, जसले गणतन्त्रको पक्षमा बोल्दा आफ्नै पार्टी नेतृत्वको आलोचना खेपे, राजद्रोहको आरोपमा जेल परे र राजतन्त्रविरुद्ध सडकमा उत्रिए। तर आज आफैँ सत्ताको दबाब र राजनीतिक प्रतिशोधको आशंकाबीच उभिएका छन्। इनम सापकोटाको अडियो, १८ करोडको आरोप र पक्राउको चर्चाले कांग्रेस सभापति गगन घेराबन्दीमा परेका छन्। अब उनी बालेन सरकारविरुद्ध राजनीतिक लडाइँ लड्छन् कि सम्झौताको बाटो रोज्छन् भन्ने चासो बढेको छ।

त्यतिबेला नेपाली कांग्रेसकै आधिकारिक राजनीतिक लाइन संवैधानिक राजतन्त्रको पक्षमा थियो। तर गगनले पार्टीको परम्परागत मान्यताभन्दा फरक बाटो रोजे। गणतन्त्रको पक्षमा बोले र राजतन्त्रको अन्त्य हुनुपर्ने माग गरे। त्यसबापत पक्राउ परे, हिरासतमा पुगे र राज्यको दमन भोगे।

२०६१ साउन १० गते नागरिक समाजले आयोजना गरेको कार्यक्रममा उनले राजतन्त्रको विरोध गर्दै गणतन्त्रको पक्षमा खुलेर भाषण गरेका थिए। त्यसको दुई दिनपछि उनलाई राजद्रोहको आरोपमा पक्राउ गरियो। करिब तीन सातापछि उनी रिहा भए। त्यतिबेला आफ्नै पार्टीका नेताहरू पनि उनको गणतन्त्रवादी अडानप्रति असहमत थिए।

२०६२/०६३ को जनआन्दोलनमा उनी विद्यार्थी नेताका रूपमा अग्रपंक्तिमा देखिए। शान्तिवाटिकादेखि सडकका प्रदर्शनसम्म उनको उपस्थिति थियो। निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनमा उनी केवल भाषण गर्ने नेता थिएनन्, सडकमा उत्रिएका आन्दोलनकारीमध्ये एक थिए।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गगनमाथि अहिले १८ करोड रुपैयाँ खर्च गरेर पार्टीको आधिकारिकता लिएको आरोप लागेको छ।

बिचौलिया भनिएका इनम सापकोटाको प्रहरी बयान भन्दै सार्वजनिक गरिएको अडियोमा कांग्रेसको आधिकारिकता विवाद मिलाउन १८ करोड रुपैयाँ खर्च भएको प्रसंग सुनिन्छ। त्यसमा गगन थापासहित केही राजनीतिक तथा न्यायिक व्यक्तिहरूको नाम जोडिएको छ। अडियोको आधिकारिकता, त्यसको स्रोत र सम्पादन भएको वा नभएको विषयसमेत विवादित छ।

गगनले इनमलाई नचिनेको र उनीसँग कुनै आर्थिक कारोबार नगरेको दाबी गरेका छन्। कांग्रेसले पनि आरोपलाई नियोजित र कपोलकल्पित भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।

विवाद चर्किरहेका बेला प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा लेखे– ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्रीको यो अभिव्यक्ति कसलाई लक्षित थियो भन्ने खुलेको छैन। तर गगनलाई चुनौती हो भनेर त्यसले राजनीतिक वृत्त तताइरह्यो।

त्यसको भोलिपल्ट गगनले पनि सामाजिक सञ्जालमा लेखे– ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ संयोग होस् वा राजनीतिक संकेत, उनको यो स्टाटसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सीधा चुनौती दिएको रूपमा चर्चा पायो।

आखिर प्रधानमन्त्री बालेनको चेतावनी र कांग्रेस सभापतिको जवाफ। यो जुहारी कहाँ पुगेर रोकिन्छ ? आम चासोको विषय बनेको छ।

इनमको अडियो सार्वजनिक भएपछि गगनलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा राजनीतिक वृत्तमा फैलिएको छ। तर पक्राउ गर्ने औपचारिक निर्णय सार्वजनिक भएको छैन। प्रहरीका सम्बन्धित अधिकारीले समेत पक्राउको आदेश आएको जानकारी नभएको बताएका छन्।

यता कांग्रेस नेताहरूले भने सभापतिमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री उदयशमशेर राणालगायतका नेताहरूले पार्टीको आधिकारिकतामाथि प्रश्न उठाउने गरी अडियो प्रकरणलाई प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।

कांग्रेसले निष्पक्ष अनुसन्धानको माग गरेको छ। आरोप प्रमाणित भए कानुनी कारबाही हुनुपर्ने र आरोप निराधार भए त्यसको पछाडि रहेका पात्र र उद्देश्य पनि सार्वजनिक हुनुपर्ने उसको भनाइ छ।

यद्यपि गगनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत पक्षधरका रूपमा प्रस्तुत गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्। उनले हालै विशेष सम्बोधन गर्दै सरकारलाई व्यक्ति होइन, संस्था बलियो बनाउन आग्रह गरेका थिए। पाँच वर्ष सरकार चलाउने जनादेश पाएको भन्दैमा प्रतिपक्षको आवाज दबाउने अधिकार प्राप्त नहुने उनको तर्क थियो।

बालेन सरकारप्रति गगनको यो टिप्पणी प्रतिपक्षी दलको कटाक्षका रूपमा मात्रै सीमित छैन। यसले सरकार र प्रतिपक्षबीचको सम्बन्ध, प्रहरीको निष्पक्षता, न्यायपालिकाको स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको बहसलाई समेत अगाडि ल्याएको छ।

गगनलाई पक्राउ गरिए कांग्रेसले राजनीतिक र कानुनी दुवै मोर्चाबाट प्रतिवाद गर्ने संकेत दिएको छ। प्रतिपक्षी दलहरूबीच पनि सरकारका पछिल्ला गतिविधिमाथि संसदीय छानबिनको माग उठिरहेको छ। राप्रपा र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले समेत राज्यका निकायको प्रयोग, प्रहरी नेतृत्व परिवर्तन र अडियो प्रकरणबारे विरोध जनाएका छन्।

यस्तो अवस्थामा गगनमाथि कानुनी कारबाही अघि बढाइए त्यसको राजनीतिक असर कांग्रेसको संगठनमा मात्रै सीमित नहुन सक्छ। प्रतिपक्षी दलहरूबीच साझा मुद्दा बन्ने सम्भावनासमेत बलियो देखिएको छ।

ज्ञानेन्द्रसँग नझुकेको गर्विलो इतिहास बोकेका गगन अहिले बालेन सरकारसँगको टकरावमा कुन बाटो रोज्छन् ? आत्मसमर्पण, राजनीतिक सम्झौता वा प्रतिरोध ? त्यो भने हेर्न बाँकी नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *