एनपीएलमा सन्दीपको तहल्का, ह्याट्रिकसहित ६ विकेट
खेलकुद
काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले यस्तो प्रदर्शन गरेका हुन्।
सन्दीपले ३ ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिए। उनले खेलको १५औं ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। ओभरको तेस्रो, चौथो र पाँचौं बलमा विकेट लिएका सन्दीपले पोखराको मध्यक्रम ध्वस्त पारे।
यससँगै सन्दीप जारी सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन्। यसअघि खेलेका पाँच खेलमा उनले जम्मा एक विकेट मात्र लिएका थिए। तर, आफ्नो छैटौं खेलमा भने उनले अविश्वसनीय पुनरागमन गरेका छन्।
सन्दीप एनपीएल इतिहासमा ह्याट्रिक विकेट लिने चौथो खेलाडीसमेत बनेका छन्। यसअघि विराटनगरकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए।
यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एनपीएलको एकै खेलमा ६ विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
