`

बालेनका नियुक्तिले रवि रुष्ट!

शुभेच्छा खड्का २ मंसिर २०८३ १३:११
बिशेष

काठमाडौं। परिवर्तन र सुशासनको नारा घन्काएर सत्तामा पुगेको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका राजनीतिक नियुक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने असन्तुष्ट बनेका छन् ।

नयाँ पुस्ता र विषयगत विज्ञलाई अवसर दिने अपेक्षाविपरीत सार्वजनिक संस्थामा अवकाशप्राप्त कर्मचारी तथा पूर्वसैनिक अधिकारीलाई प्राथमिकता दिइएपछि सरकारको नियुक्ति शैलीप्रति रवि असन्तुष्ट बनेको चर्चा छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएपछि सरकारको निर्णय चर्चामा आएको छ । गत फागुनमा सचिवबाट अवकाश पाएका घिमिरेले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रपति कार्यालयमा जिम्मेवारी सम्हाले ।

बालेन सरकारले भूमि समस्या समाधान आयोगमा पूर्वन्यायाधीश बलभद्र बाँस्तोला र पूर्वमहानिर्देशक पद्मनिधि सोतीलाई नियुक्त गरे। चिकित्सा सेवा आयोगको उपाध्यक्षमा अवकाशप्राप्त सैनिक अधिकारी डा. देवेन्द्रबहादुर खत्रीलाई जिम्मेवारी दिइयो।

त्यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा पूर्वबैंकर डा. गोपालप्रसाद भट्ट, बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी र निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुखमा अवकाशप्राप्त पीताम्बर भण्डारी नियुक्त भए ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा, सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विकासमन्त्रीको विज्ञ सल्लाहकारमा सुशील ज्ञवाली नियुक्त भए। विद्युत् नियमन आयोगमा अघिल्लो सरकारले नियुक्त गरेका डा. रामप्रसाद धिताललाई नै निरन्तरता दिइयो।

अवकाशप्राप्त प्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि राजदूतमा सिफारिस गरियो।

सरकारका यी नियुक्तिले परिवर्तनको नाराअनुसार नयाँ पुस्ता र विज्ञलाई अवसर दिने रास्वपाको प्रतिबद्धतामाथि सबाल उठ्यो।

सार्वजनिक संस्थामा पूर्वकर्मचारी र पुरानै प्रशासनिक वृत्तका व्यक्तिहरूलाई प्राथमिकता दिइएको भन्दै सरकारको कार्यशैलीको आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *