आफ्नै सरकार र सहकर्मीमाथि सोडारीका प्रश्नैप्रश्न, आरोपैआरोप
काठमाडौं। गत वर्षको २३ र २४ भदौमा जेनजीहरूले सुशासनलाई मुख्य एजेन्डा बनाएर विद्रोह गरे। उक्त विद्रोहको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन भयो। कार्की नेतृत्वको सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरायो। चार वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिटसहित प्रचण्ड बहुमत प्राप्त गर्यो। काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बने।
जेनजी विद्रोहकै बलमा बालेन प्रधानमन्त्री बनेपछि जनताले अब साँच्चिकै देशमा सुशासन स्थापित हुने अपेक्षा गरेका थिए। तर, आफैँ आन्दोलन गरेर प्रधानमन्त्री बनाएका जेनजीहरू नै सरकार गठन भएको सात महिना नपुग्दै चर्को आलोचना र विरोधमा उत्रिएका छन्।
जेनजी अभियन्ताहरू अजय सोडारी, रक्षा बम, माजिद अन्सारी, तनुजा पाण्डेलगायत सरकारको आलोचना र विरोध गर्नेमा अग्रपङ्क्तिमा छन्। आफैँले बनाएको सरकारको सात महिनामै आलोचना र विरोध गर्नुपर्ने अवस्था कसरी उत्पन्न भयो? यस विषयमा हामीले अभियन्ता सोडारीसँग भिडियो वार्ता गरेका छौँ।
सोडारीले बालेन सरकारले जेनजी आन्दोलनको म्यान्डेटअनुसार काम गर्न नसकेको बताए। उनका अनुसार जेनजी आन्दोलनपछि तत्कालीन कार्की नेतृत्वको सरकारले जेनजीहरूसँग गरेका वाचा र रास्वपाले चुनावका बेला गरेका प्रतिबद्धताअनुसार सरकारले काम गर्न सकिरहेको छैन। सुशासनको नारा दिएर सरकार बनाएका बालेनले नै विगतभन्दा बढी कुशासन मच्चाएको उनको आरोप छ।
प्रस्तुत छ, नेपालवान् एचडीका लागि रामचन्द्र जोशीले सोडारीसँग गरेको भिडियो वार्ताको सम्पादित तथा संक्षिप्त अंश :
जेनजी आन्दोलनको म्यान्डेटअनुसार सरकारले काम गरिरहेको छ?
जस्तै, तपाईंले भन्नुभयो, भदौ २३ मा किन आन्दोलन भयो? त्यो कसैलाई सत्ता पक्षलाई सडकमा ल्याउन अथवा सडकको शक्तिलाई सत्तामा लिनका लागि भएको थिएन। अर्को कुरा, त्यो ८४ को चुनावलाई ८२ मा गर्नका लागि पनि भएको थिएन। फागुन २१ को चुनाव गर्नका लागि पनि त्यो भएको थिएन।
त्यतिबेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। त्यो एउटा कारण त थियो, तर सबैभन्दा ठूलो समस्या भनेको यो देशमा युवाहरूले अवसर नपाउनु थियो। त्यतिबेला एउटै नारा उठिरहेको थियो– हुनेखानेका छोराछोरी गाडीमा, गरिब जनताका छोराछोरी खाडीमा। अथवा खाडीमा बेल्चा हान्नुपर्ने अवस्था थियो। अहिले पनि छ।
अर्को कुरा, नातावाद र कृपावादका विषय थिए। त्यतिबेला सबैभन्दा बढी चलेको माग र मुद्दा के थियो भने ‘नेपो किड्स’ अथवा ‘नेपो बेबी’ अभियान। नेताका छोराछोरीको जीवनशैली, उच्च तहका कर्मचारीका छोराछोरीको जीवनशैली र नेपाली जनताका छोराछोरीको जीवनशैलीबीच कुनै समानता थिएन।
राजनीतिमा पनि सधैँ एउटै अनुहार देखिन्थे। त्यही केपी शर्मा ओली, त्यही पुष्पकमल दाहाल प्रचण्ड, त्यही शेरबहादुर देउवा, त्यही झलनाथ खनाल र त्यही माधव नेपाल। राजनीतिमा कुनै नयाँपन देखेनौँ। भ्रष्टाचार उस्तै, कुशासन उस्तै। पासपोर्ट बनाउन जाँदा उस्तै लाइन, लाइसेन्स लिन जाँदा उस्तै लाइन। कुनै ठाउँमा भनसुन नगरी कामै नबन्ने अवस्था थियो। मालपोतमा जाँदा पनि उस्तै समस्या थिए।
हामी भन्छौँ, यो देशमा ९४ लाख जेनजी थिए। तीमध्ये झन्डै ४० प्रतिशत जेनजी सडकमा आए। देशका ७७ वटै जिल्लामा आन्दोलन भयो। त्यतिबेला हामीले भनेको के हो भने ‘इनफ इज इनफ’। पुरानो शैली, प्रवृत्ति र कार्यशैली अब बदल्नुपर्छ। यही विषयमा जेनजी आन्दोलन भएको थियो।
तर, केही गलत व्यक्तिहरूले आन्दोलनमा घुसपैठ गरे र परिणामस्वरूप राज्यबाट दमन भयो। गोलीहरू चले।
मैले तपाईंलाई सोधेको, नयाँ सरकारले चाहिँ त्यो आन्दोलनको म्यान्डेटअनुसार काम गरिरहेको छ?
जेनजीले चाहेको देश बन्यो कि बनेन? जेनजीले के पाए? घाइतेले के पाए? समग्र यो मुलुकले के पायो भनेर बुझेर हेर्दा कुनै पनि जेनजी सन्तुष्ट छैनन्। घाइते, सहिद परिवार, सम्पूर्ण जेनजी अभियन्ता र जेनजी पुस्ता कोही पनि सन्तुष्ट हुने अवस्था छैन।
बालेन्द्र शाह नेतृत्वको सरकारको सात महिनाको समीक्षा गर्दा हामी जेनजी खुसी छैनौँ। हामीले भनेको सुशासन खै? कहाँ छ सुशासन? हामीले भ्रष्टाचारको अन्त्य भनेका थियौँ। तर, आज भ्रष्टाचारका झन् ठूला–ठूला सेटिङ भइरहेका छन्।
सरकार त सुशासनको पक्षमा निरन्तर काम गरिरहेको दाबी गर्छ नि?
सुशासन भनेको के हो? मलाई भनिदिनुस्, अनि बहस गरौँला। एउटा खोला किनारमा सर्वस्व गुमाएर बसेको मान्छेको घरमा डोजर चलाएर उसलाई त्यहाँबाट निकालेर अर्को खोलामा राख्नु सुशासन हो?
रवि लामिछानेले त्यतिबेला के भन्नुहुन्थ्यो? हाम्रो सरकार बनेको एक महिनाभित्र विदेशका गल्लीगल्लीमा रोजगारीका स्टिकर टाँस्छौँ। यो देशबाट विदेश जाने अवस्था कसैलाई सिर्जना हुँदैन भन्नुहुन्थ्यो। खै त?
यो देशको प्रधानमन्त्रीका गतिविधि हेर्नलायक छन्? के प्रधानमन्त्रीले गर्ने काम त्यस्ता हुन्छन्? आज दुईतिहाइको संसद्लाई छलेर अध्यादेशबाट देश चलिरहेको छ। यही हो सुशासन?
कर्मचारीलाई त्रासमा राखेर, शिक्षकहरूलाई त्रासमा राखेर, प्रहरीलाई त्रासमा राखेर, मिडियालाई त्रासमा राखेर शासन सत्ता सञ्चालन गर्ने? यही हो सुशासन? व्यापारीहरूलाई तर्साएर ‘तैँले यति पैसा दिन्छस् भने दे, होइन भने तँलाई उठाएर ल्याउँछौँ’ भन्ने कामहरू भइरहेका छन्। यही हो सुशासन?
के हो सुशासन भनेको? सुशासन भनेको त विधिको शासन, थितिको शासन, संविधानको शासन र प्रणाली बसाउने कुरा होलान्। एउटा नयाँ आयाम ल्याउने कुरा होलान्।
तपाईंहरू चाहिँ किन सरकारसँग निहुँ खोजिरहनुहुन्छ? किन सरकारको विरोध गरिरहनुहुन्छ?
त्यस्तो त लाग्दैन। त्यो गलत बुझाइ हो। जेनजी आन्दोलनको भावना र मर्मअनुसार तपाईंहरू अगाडि बढ्नुस् भनेर प्रश्न गर्नु विरोध हो? पहिला सुकुम्बासीलाई व्यवस्थापन गरौँ, उनीहरूलाई लालपुर्जा दिऔँ, सुकुम्बासी पहिचान गरौँ, सुरुमै डोजर नलगाऔँ भन्नु विरोध हो?
हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिँदा आफ्नो बोली सुधार गर्नुस् भन्नु विरोध हो? के हो विरोध भनेको?
हाम्रा जेनजी भाइबहिनीहरू अहिले पनि जेलको कालकोठरीमा छन्। उनीहरूलाई रिहा गर भन्नु विरोध हो? आज घाइते परिवारको अवस्था कस्तो छ? उनीहरूले आफ्ना सन्तान गुमाएको पीडा अहिलेसम्म भुल्न सकेका छैनन्। आज घाइतेहरू विदेश जानुपर्ने अवस्था छ। कसैका आँखा छैनन्, कसैका हात छैनन्, कसैका खुट्टा छैनन्। उनीहरूको भविष्यका बारेमा सोचिदिनुस् भन्नु विरोध हो? के हो विरोध भनेको?
तपाईंहरूले चाहिँ यी सबै कुराको ठेक्का लिनुभएको हो?
अब हाम्रै पुस्ताले आन्दोलन गरेको हो। हाम्रै भाइबहिनीहरू ढलेका छन्, हाम्रै साथीहरू ढलेका छन्। हामी नबोलेर को बोल्ने? आन्दोलनमा घुसपैठ गर्ने टीओबीहरूकै राज भइसकेको हो यो देशमा?
आन्दोलनको जिम्मा लिएको छ त राष्ट्रिय पार्टीले?
हामी डराउँदैनौँ। जस्तोसुकै अवस्था आए पनि डराउँदैनौँ। हामी त्यतिबेला भदौ २३ र २४ गते पनि डराएका होइनौँ। फागुन २१ मा पनि डराएका होइनौँ। हामी जेनजी आन्दोलनका माग र मुद्दामा अडिग छौँ। सरकार त्यही बाटोमा हिँड्नुपर्छ। हाम्रो खबरदारी निरन्तर जारी रहन्छ। त्यसबाट यो सरकारलाई दायाँबायाँ जाने अधिकार छैन।
सरकारले अपनत्व लिएको छ भन्नुभयो। त्यसो भए जेनजी आन्दोलन के हो? तपाईं अहिलेका रास्वपा सभापतिलाई सोध्नुस्, जेनजी आन्दोलन विध्वंस हो कि विद्रोह हो? एकातिर जेनजी आन्दोलन ऐतिहासिक, युगान्तकारी र परिवर्तनकारी कदम हो भन्ने। अर्कोतिर हाम्रा भाइबहिनीलाई चोर हुन्, लुटेरा हुन्, आगो लगाउने हुन् भनेर जेलभित्र हाल्ने।
तपाईंहरू त सरकारको विरुद्धमै लाग्नुभएको छ। सरकारले पनि तपाईंहरूलाई विरोधी भनेर किटान गर्छ। रक्षा बम, माजिद अन्सारी, तनुजा पाण्डेलगायत अरू अभियन्ताहरू पनि हुनुहुन्छ। तपाईंहरू सबैले चुइगम बेच्ने खुत्रुके पसल खोलेजस्तो किन विरोध गरिरहनुभएको? सबै विरोध गर्नेहरूलाई सरकार मन परिरहेको छैन। अनि एक ठाउँमा बस्न किन नसक्नुभएको?
मिलाउन कसले रोकिराखेको छ र! हामी मिल्न तयार छौँ। मिराज ढुङ्गाना हामीसँगै छौँ। त्यतिबेला अन्तरिम सरकार हुँदा जेठी छोरी भएर बस्ने। हामीलाई चुनावबाहेक केही पनि चाहिएको छैन भन्ने। हामीलाई घाइते चाहिँदैन, सहिद परिवारहरू चाहिँदैनन्, जेनजी आन्दोलनका माग र मुद्दा चाहिँदैनन्, चुनाव मात्र चाहिएको छ भन्ने। सरकारको दूत भएर बस्ने।
मिलेर अगाडि जाऔँ भन्दा फेसबुकमा स्टाटस लेख्ने, मिडिया ट्रायल गर्ने, आन्दोलन आवश्यक छैन भनेर दोहोरो चरित्र देखाउने। रहस्यमय ढंगले विरोध गरेजस्तो पनि गर्ने, भित्र गएर सरकारले राम्रो गरिरहेको छ भन्ने। यस्ता पात्रहरूकै कारण जेनजी आन्दोलन असफल भएको हो।
अहिले यो सरकार जान्छ भन्ने थाहा भयो उहाँहरूलाई। छिट्टै ढल्छ भन्ने बुझ्नुभयो।
कसले भनेको? एमालेको भाषा हो यो?
त्यही रास्वपाका मान्छेहरू भनिरहेका छन्। सुनिन्छ नि भित्र। अमरेशकुमार सिंह के बोलिरहेका छन्? तिनकै महामन्त्री विपिनकुमार आचार्य, मनीष झाहरू यो सरकारले बचपना काम गरिरहेको भनिरहेका छन्। यसको मतलब के हो? यो सरकार असफल भयो, अब नयाँ सरकार बनाउनुपर्छ भनेको हो।
अरू अभियन्तासँग यही कुरामा कुरा नमिल्ने हो तपाईंहरूको?
हामी यो कुरामा स्पष्ट छौँ।
अनि तपाईंहरू खाली निहुँ खोज्नका लागि पनि यत्तिकै बोलिरहनुभएको छ भन्ने आरोप छ नि?
देखिएकै छन् त। हामी गलत कुरा बोलिरहेका छैनौँ।
अब तपाईंहरूको बाटो चाहिँ कस्तो हुन्छ?
हाम्रो बाटो स्पष्ट छ। हामीले भदौ २३ र २४ गतेका ती कारुणिक दृश्यहरू बोलिरहेका छौँ। हामीले भदौ २३ लाई एउटा विरासत बनाएर अगाडि बढिरहेका छौँ। जेनजी विद्रोहको म्यान्डेट, ती आवाज र विचारहरू हाम्रा मार्गदर्शक हुन्।
ती मागहरू पूरा भएका छैनन्। ती माग र मुद्दाहरू पूरा नहुन्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ।




