`

चीनको अन्तरिक्ष स्टेसनमा पाकिस्तानी यात्री

Nepal One HD ९ मंसिर २०८३ १५:२४
बिशेष

एजेन्सी। चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई प्रवेश गराएको छ ।

बुधबार बिहान ‘लङ मार्च–२ एफ वाई२४’ रकेटमार्फत प्रक्षेपण गरिएको ‘सेन्झाउ–२४’ मानवयुक्त अन्तरिक्ष यानमा दुई चिनियाँ र एक पाकिस्तानी यात्री अन्तरिक्षमा पुगेका हुन् ।

चिनियाँ समयअनुसार बिहान ८ः१८ बजे उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडेको यान करिब साढे तीन घण्टापछि ‘टियाङगंग’ अन्तरिक्ष स्टेसनसँग जोडिएको थियो । त्यसपछि तीनै जना यात्री स्टेसनभित्र प्रवेश गरेको चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सीले जनाएको छ । प्रक्षेपण र यानको स्टेसनसँगको सम्पर्क सफल भएको तथा यात्रीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन् ।

यानमा चीनका ५१ वर्षीय ताङ होङ्बो, ३९ वर्षीय वु यी र पाकिस्तानका ४० वर्षीय मोहम्मद जिसान अली छन् । चिनियाँ अन्तरिक्ष स्टेसनमा विदेशी यात्री पुगेको यो पहिलो घटना हो । यसले चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमलाई अन्तर्राष्ट्रिय सहकार्यको नयाँ चरणमा पुर्‍याएको छ ।

मिसनका क्रममा चालक दलले ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछन् । अन्तरिक्षमा मानव जीवन, सूक्ष्म गुरुत्वाकर्षण, भौतिकशास्त्र र नयाँ प्रविधिसम्बन्धी अध्ययन गरिनेछ । चीन र विदेशी साझेदारबीचका संयुक्त वैज्ञानिक परियोजना पनि यसमा समावेश छन् ।

अलीले केही दिन अन्तरिक्ष स्टेसनमा बिताउनेछन् । यस अवधिमा उनले प्रकाश संश्लेषणसँग सम्बन्धित सायनोब्याक्टेरियामाथि प्रयोग गर्नेछन् । त्यसपछि उनी ‘सेन्झाउ–२३’ यानमार्फत पृथ्वी फर्कने कार्यक्रम छ । अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने कमान्डर ताङ तेस्रोपटक अन्तरिक्षमा पुगेका हुन् । यससँगै ताङ टियाङगंग स्टेसनमा तीनपटक प्रवेश गर्ने पहिलो अन्तरिक्ष यात्री बनेका छन् ।

यसअघि नै स्टेसनमा रहेका ‘सेन्झाउ–२३’ मिसनका कमान्डर झु याङझु भने झन्डै एक वर्ष त्यहीँ रहनेछन् । निर्धारित योजना पूरा भए उनी अन्तरिक्ष स्टेसनमा सबैभन्दा लामो समय बस्ने चिनियाँ यात्री बन्नेछन् ।

मिसनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा ताङले भाषा र सांस्कृतिक भिन्नताका बाबजुद चीन र पाकिस्तानबीचको सहकार्य सफल भएको बताएका थिए । पाकिस्तानी यात्री अलीले चिनियाँ भाषामा कविता वाचन गर्दै भविष्यमा चन्द्रमा र मङ्गल ग्रहसम्म दुवै देशको संयुक्त अन्तरिक्ष यात्रा हुने आशा व्यक्त गरेका थिए ।

चीन र पाकिस्तानबीचको अन्तरिक्ष सहकार्य सन् १९९० को दशकदेखि हुँदै आएको छ । सन् २०२५ फेब्रुअरीमा भएको सम्झौतापछि पाकिस्तानी यात्रीलाई चिनियाँ मानवयुक्त अन्तरिक्ष मिसनमा सहभागी गराउने बाटो खुलेको थियो । चीनले यसअघि पाकिस्तानी भूउपग्रह प्रक्षेपण गरिसकेको छ भने सन् २०२८ सम्म पाकिस्तानमा निर्मित रोभरलाई चिनियाँ चन्द्र अभियानमा सहभागी गराउने लक्ष्य राखिएको छ ।

प्रक्षेपणलाई पाकिस्तानमा पनि उत्साहका साथ हेरिएको थियो । यान उड्नेबित्तिकै विभिन्न स्थानमा ‘अल्लाह हु अकबर’ र ‘पाकिस्तान–चीन मित्रता जिन्दाबाद’ का नारा गुन्जिएका थिए । पाकिस्तानी परिवार, वैज्ञानिक तथा सर्वसाधारणले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्दै खुसी मनाएका थिए ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र चिनियाँ राष्ट्रपति सी चिनफिङले यस उपलब्धिलाई दुई देशको सम्बन्धको महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा व्याख्या गरेका छन् । चिनियाँ सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सीले अन्तरिक्ष स्टेसनलाई शान्ति, मित्रता र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गर्दै अन्तरिक्षको शान्तिपूर्ण उपयोगमा अन्य देशसँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अलीको यात्रा २४ करोड पाकिस्तानीको साझा उपलब्धि र युवा पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन् ।

अन्तरिक्ष स्टेसनको प्रयोग तथा विकास चरणमा प्रवेश गरेयता चीनको यो आठौँ मानवयुक्त उडान हो भने समग्र कार्यक्रमको ४१औँ प्रक्षेपण हो । अन्तरिक्ष क्षेत्रमा चीन र अमेरिकाबीच प्रतिस्पर्धा तीव्र भइरहेका बेला यो मिसनले चीनको अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने रणनीतिलाई समेत उजागर गरेको छ ।

अमेरिकाको नासा सन् २०२८ मा चन्द्रमामा मानव पठाउने लक्ष्यमा छ भने चीनले सन् २०३० सम्ममा आफ्नो पहिलो मानवयुक्त चन्द्र अभियान पूरा गर्ने योजना बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *