युक्रेन युद्धमा रुसको पाँच लाखभन्दा बढी सैनिक मारिएको खुलासा
काठमाडौं। युक्रेनमाथि आक्रमण थालेको झण्डै चार वर्ष पुग्न लाग्दा रुसले युद्धमा बेहोरेको मानवीय क्षतिको भयावह विवरण सार्वजनिक भएको छ।
रुसी सरकारी तथ्याङ्क निकाय ‘रोसस्टाट’का अभिलेख विश्लेषण गर्दा युक्रेन युद्धमा कम्तीमा ४ लाख ९० हजार ३ सय ३४ रुसी सैनिकको मृत्यु भएको देखिएको छ। स्वतन्त्र स्रोतबाट संकलित विवरण र सैन्य विज्ञहरूको आकलनलाई आधार मान्दा वास्तविक मृतक सङ्ख्या ६ लाख ४४ हजारभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।
बीबीसीले रोसस्टाटका मृत्यु अभिलेख विश्लेषण गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो। बेलारुसी ह्याकर समूह ‘साइबर पार्टिसन्स बिवाई’ र युक्रेनी समूह ‘साइलेन्ट क्रो’ ले रुसी सरकारी तथ्याङ्क प्रणालीमा पहुँच बनाएपछि बीबीसी रसियनले सन् २०२१ देखि सन् २०२६ सेप्टेम्बरसम्मका एक करोड १० लाखभन्दा बढी मृत्यु अभिलेख अध्ययन गरेको थियो।
रुसी तथ्याङ्क निकायले साइबर आक्रमण भएको स्वीकार गरे पनि कुनै संरक्षित सूचना चुहावट नभएको दाबी गरेको छ। तर, बीबीसी रसियनले स्वतन्त्र सञ्चारमाध्यम ‘मिडियाजोना’सँगको सहकार्यमा खुला स्रोतबाट संकलन गरेको सैनिक मृत्युको सूची सरकारी अभिलेखसँग तुलना गर्दा करिब ९० प्रतिशत विवरण मेल खाएको छ।
खुला स्रोतबाट पुष्टि गरिएका २ लाख ९० हजार १२ सैनिक मृत्युको सूची वास्तविक मृतक सङ्ख्याको ४५ देखि ५५ प्रतिशत मात्रै हुन सक्ने सैन्य विज्ञहरूको आकलन छ। यही आधारमा युक्रेन युद्धमा मारिएका रुसी सैनिकको वास्तविक सङ्ख्या ५ लाख २७ हजार २ सय ९५ देखि ६ लाख ४४ हजार ४ सय ७१ सम्म हुन सक्ने अनुमान गरिएको हो।
युद्धको सबैभन्दा ठूलो मार भने रुसी युवापुस्ताले खेपिरहेको देखिन्छ। सन् २०२५ मा रुसमा मृत्यु भएका १८ देखि २४ वर्ष उमेर समूहका युवामध्ये ६५ प्रतिशतको ज्यान युद्धका कारण गएको तथ्याङ्कले देखाएको छ। त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहमा युद्धका कारण मृत्यु हुनेको हिस्सा ५९ प्रतिशत रहेको छ।
मृत्युको जोखिम पनि रुसभर समान छैन। अति गरिब पूर्वी साइबेरियाली क्षेत्र त्युभा, बुरियातिया र जाबायकाल्स्की क्राईका पुरुषको युद्धमा मारिने सम्भावना राजधानी मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाको तुलनामा २० देखि २५ गुणासम्म बढी देखिएको छ। यसले रुसी सैन्य अभियानको भार आर्थिक रूपमा कमजोर क्षेत्रका नागरिकमाथि बढी परेको देखाउँछ।
युक्रेनका १० वटा साना गाउँ नियन्त्रणमा लिने लडाइँमै करिब २० हजार रुसी सैनिक मारिएको विवरणले युद्धको भयावहता झन् उजागर गरेको छ। युद्धअघि ती गाउँको कुल जनसङ्ख्या १२ हजार मात्रै थियो। थोरै जनसङ्ख्या भएका बस्ती कब्जा गर्न हजारौँ सैनिकको ज्यान जानुले रुसको सैन्य अभियान कति महँगो साबित भइरहेको छ भन्ने देखाउँछ।
रुसी सेनाको पक्षबाट लड्दै ज्यान गुमाउने विदेशी नागरिकको सङ्ख्या पनि कम्तीमा ५ हजार १७ पुगेको छ। तीमध्ये उज्बेकिस्तानका एक हजार ३१ र ताजिकिस्तानका ७ सय २० नागरिक छन्। यसबाहेक रुसलाई सघाउन युक्रेन युद्धमा परिचालित उत्तर कोरियाली सैनिकले पनि ठूलो क्षति बेहोरेका छन्। स्याटेलाइट तस्बिर र प्योङयाङमा निर्माण गरिएको नयाँ स्मारकका आधिकारिक तस्बिर विश्लेषण गर्दै बीबीसीले सन् २०२४ मा युक्रेनी आक्रमण रोक्ने क्रममा २ हजार ३ सय ४ उत्तर कोरियाली सैनिक मारिएको पहिचान गरेको छ।
यता, युक्रेनले पनि युद्धमा आफ्ना सैनिकको मृत्युबारे सार्वजनिक गरेको विवरण र स्वतन्त्र स्रोतका तथ्याङ्कबीच ठूलो अन्तर देखिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाई २०२६ मा करिब ५० हजार सैनिक मारिएको बताएका थिए। तर, खुला स्रोतमा आधारित ‘युए लसेस’ वेबसाइटले मृत्यु हुने युक्रेनी सैनिकको सङ्ख्या एक लाख १५ हजार ९ सय ५२ पुगेको उल्लेख गरेको छ।
