`

रौतहटमा मोटरसाइकल दुर्घटना : ७० वर्षीया वृद्धाको मृत्यु, दुई घाइते

Nepal One HD २ कार्तिक २०८३ १२:१५
समाचार
काठमाडौं । रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मौलापुर-शीतलपुर सडकखण्डअन्तर्गत मौलापुर नगरपालिका-२ मर्यादपुरमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा फतुवा विजयपुर नगरपालिका-२ शीतलपुर निवासी करिब ७० वर्षीया सोमरिया देवी ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी ठाकुरको बाराको कलैयास्थित राजलक्ष्मी प्रालि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मोटरसाइकलमा सवार अन्य दुई जना पनि घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक ५३ वर्षीय त्रिविक्रम ठाकुर र पछाडि सवार उनकी बुहारी २८ वर्षीया सीमा कुमारी ठाकुर रहेका छन् । दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरी निरीक्षक भरत केसीको कमान्डमा इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिई कार्यालयमा राखेको छ ।

साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *