`

सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

Nepal One HD २९ मंसिर २०८० १६:०४
प्रमुख खबर

काठमाडौं । सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो । महानगरले सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएपछि श्रीराम टोवागो उद्योगले रिट दायर गरेको थियो ।

आदेशमा भनिएको छ, ‘कानूनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा मिति २०८०/०८/१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’


प्रतिक्रिया