`

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने राष्ट्रपति पौडेलको प्रतिबद्धता

Nepal One HD ७ पुष २०८० १७:२०
प्रमुख खबर

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शनिबार नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान प्रदत्त भूमिका निष्ठपूर्वक पालना गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उहाँले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले राज्यले उनीहरूको सहयोगको अपेक्षा गरेको बताउनुभयो समारोहमा प्रजातन्त्र सेनानी, प्रतिष्ठित उद्योगपतिलगायत २९ जनालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया