कम्युनिष्ट पार्टीहरूलाई चीनविरुद्ध उभ्याउने षड्यन्त्र भइरहेको छः खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले कम्युनिष्ट पार्टीहरूलाई विभाजित गरेर मिल्नै नदिने गरी चीनविरुद्ध उभ्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुधबार पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै खनालले अहिले देशका वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने कार्य भैरहेको बताएका हुन् ।
दक्षिणपन्थी शक्तिलाई पोषण गर्ने काम धेरै अगाडिदेखि भइरहेको भन्दै खनालले वामपन्थी शक्तिहरूलाई कमजोर पारेर दक्षिणपन्थी शक्तिलाई बलशाली बनाउने खेलमा लागेको आरोप लगाए ।
उनले दक्षिणपन्थीहरुको उद्देश्य नेपाललाई आफ्नो नियन्त्रणमा लिएर सम्भव भएसम्म समाजवादी चीनका विरुद्ध उभ्याउने रहेको बताए । उनले महाधिवेशनबाट धेरैलाई पार्टीमा ल्याउन नसके आगामी निर्वाचनमा गाह्रो पर्ने बताए ।
उनले भने, ‘हामी धेरै मान्छेलाई रुपान्तर र गोलबद्ध गरी फराकिलो छाती बनाएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने दिशातिर लागेनौं भने ८४ को चुनावमा वामपन्थीहरुलाई एक्लै पारेर धुल्याउने योजना छ । यो बुझिराख्नुहोला । अहिल्यैदेखि हामीले तयारी गर्न सक्नुपर्छ । कुनबाट एकता तयारी हुन्छ, त्यो तयारी गर्न सकेनौं भने गाह्रो छ ।’
खनालले महाधिवेशनका लागि नेतृत्व चयनको विषय नेताहरुको सहमतिबाटै गरिने उल्लेख गर्दै संसारको सबभन्दा सर्वोत्तम लोकतन्त्रको पक्षधर पार्टी एकीकृत समाजवादी भनेर स्थापित गर्नुपर्ने बताए ।
