प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधन ‘धामीको मन्त्र’ जस्तोः अध्यक्ष ओली
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको बताएका छन् । शुक्रबार चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई अध्यक्ष ओलीले धामीको मन्त्रको संज्ञा दिए ।
उनले भने, ‘प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको थियो । केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छ र त्यसमा ?’ उनले प्रधानमन्त्रीले एक वर्षको अवधिमा के–के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको बताए ।
अध्यक्ष ओलीले सरकारको कामलाई नजिकबाट खबरदारी गरिरहेको भन्दै नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी दिए । नेपाली कांग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरु एजेण्डाविहीन भएको बताए । उनले एमालेसँग भने राष्ट्रियताको रक्षा गर्ने अभिभारा भएको दाबी गरे ।
