`

भारतसंग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसंग जानकारी लिने समितिको निर्णय

Nepal One HD २० पुष २०८० १६:३७
प्रमुख खबर

काठमाडौँ / प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले भारतसंग भएको सम्झौताका बारेमा प्रधानमन्त्रीसंग जानकारी लिने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका बिषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो । बैठकमा केहि समिति सदस्यहरुले नेपाल र भारतबीच भएका केहि सम्झौता मुलुकको हित बिपरित हुन सक्ने भएकाले सरकारसंग जानकारी माग गर्नुपर्ने धारणा राखेका थिए । सांसदहरुको माग पछि समिति सभापति बिमला सुवेदीले सम्झौताका बिषय समितिको पनि क्षेत्राधिकार भएकाले यस बिषयमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको बताईन ।

बैठकमा समिति सदस्य महेश बर्तौलाले नेपाल र भारतकाबीच भएको सम्झौतामाथि बिभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बताए । उनले समानान्तर सरकारको अभ्यास गर्ने गरि भारतलाई अधिकार दिएको भन्ने कुरा पनि आएकाले सम्झौताका बारेमा प्रधानमन्त्रीले समितिमा जानकारी गराउन माग गरे ।

त्यस्तै समिति सदस्य सन्तोष परियारले अन्तराष्ट्रिय सहमति सम्झौता समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले भारतसंग भएका सहमतिबारे जानकारी लिनुपर्ने बताए । उनले सरकारले राज्यलाई लामो समयसम्म असर पर्ने कुनै पनि सन्धी सम्झौता गर्न नहुने उल्लेख गरे ।

अन्य समिति सदस्यहरुले पनि भारतसंग भएको सहमतिका बारेमा सरकारले समितिमा आएर प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए।


प्रतिक्रिया