मौलापुर नगरपालिकाद्वारा मधानी महोत्सवको खर्च बिवरण सार्वजनिक


रौतहट । मौलापुर नगरपालिकाले मधानी महोत्सवको खर्च बिवरण सार्वजनिक गरेर उदाहरणीय काम गरेको छ ।
देशभरका धेरै स्थानीय तहमा आर्थिक पारदर्षिता कायम हुन नसकेको भन्दै आलोचना भइरहेको बेला मौलापुरले भने महोत्सवको खर्च विवरण सार्वजनिक गरेर स्थानीय तहमाथि लाग्ने गरेको आर्थिक अपारदर्षिताको आरोपलाई गलत सावित गरेको हो ।
अर्कोतर्फ न्युनतम खर्चमा राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकार उपस्थिति गराएर पालिकाले अर्को उदाहरणीय काम गरेको छ ।
फागुन २२ देखि २६ गतेसम्म चलेको ५ दिवसीय महोत्सवमा ७३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्प सहित मौलापुर नगरपालिकाले फागुन २२ गते देखि २६ गते सम्म ५ दिवसिय मधानी महोत्सव आयोजना गरेको थियो ।
महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल साह, नायिका निलम गिरि, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्द कलाकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो । यस्तै, बाबाधामको मुल पूजारीहरु र संस्कृत बिश्व विधालयको आचार्यहरुले मन्दिरमा पूजा गर्नुका साथै विशाल संख्यामा निकालिएको भगवान शिवको बारात यात्रा र शिव मण्डली सहितको शिवलिला प्रदर्शन गरिएको थियो ।
धेरैलाई प्रभावित गर्नेगरी बिशाल कार्यक्रम यति कम रकममा भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको पालिकाको दावी छ । यसले मौलापुर नगरपालिका बिकास र सेवासुविधामा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्यात बन्ने अपेक्षा गरिएको छ ।