पर्यटनमन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी


काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई लक्षित गरी आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।
आफूले दिएको अभिव्यक्तिले मन्त्री र उनको परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् । बुधबार सामाजिक संजालमार्फत सांसद बजगाईंले यस विषयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुंगानासँग छलफल भएको र आफूले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएकाले फिर्ता लिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सामाजिक संजाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु।’
केही दिनअघि सांसद बजगाईंले मन्त्री पाण्डेले क्यासिनेको लाइसेन्स दिन ठूलो रकम लिएको आरोप लगाएका थिए । उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए । अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो ।