`

पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक ठोक्किँदा १० जना घाइते [तस्वीरहरू]

Nepal One HD ११ कार्तिक २०८३ ११:३२
प्रमुख खबर

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

प्रहरीचौकी कुरिनटारका अनुसार मंगलबार बिहान करिब ९ः२० बजे काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित भएको बसले सोही दिशामा गइरहेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा बस र माइक्रोबसमा सवार यात्रु घाइते भएका हुन्। घाइतेमध्ये पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। उनीहरूमा बाराको निजगढका ४२ वर्षीय कुमार जोशी, पूर्वी नवलपुरको कावासोती नगरपालिका–३ का ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल छन्। जोशीको टाउकोमा तथा गुरुङ र कुमालको दायाँ खुट्टामा चोट लागेको छ।

त्यस्तै, झापाको दमक नगरपालिका–३ की ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्। पोखरेलको शरीरमा बाहिरी चोट नदेखिएको र भट्टराईको दायाँ आँखामाथि चोट लागेको जनाइएको छ। पहिचान खुलेका पाँचै जनाको अवस्था सामान्य रहेको छ।

घाइतेहरूको कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल, सशस्त्र प्रहरी बलको पृथ्वी हाईवे ट्रमा सेन्टर र इच्छाकामना गाउँपालिका अस्पतालमा उपचार भइरहेको छ। बाँकी घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण पृथ्वी राजमार्गको उक्त खण्डमा एकतर्फी यातायात प्रभावित भएको छ। प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *