`

२५ हजार डलरको बार्गेनिङले एनपीएलमा पाकिस्तानी खेलाडीको खेल्ने बाटो रोकियो!

Nepal One HD ११ कार्तिक २०८३ ११:४०
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागितामाथि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले गाँठो पारिदिएको छ।

खेल्न नेपाल आएका खेलाडीले मैदान उत्रिने अनुमति अर्थात् अनापत्ति प्रमाणपत्र (एनओसी) नपाउँदा तीन फ्रेन्चाइज टोलीको योजना नै अन्योलमा परेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार पाकिस्तानी खेलाडीको एनओसी अझै प्राप्त भएको छैन। पीसीबीले यस विषयमा कुनै प्रतिक्रिया नदिएकाले खेलाडीको सहभागिता निश्चित गर्न नसकिएको उनको भनाइ छ। एनओसीबिनै खेलाउन नसकिने भएकाले क्यान पनि प्रतीक्षामै बस्नुपर्ने अवस्था आएको छ।

यस प्रकरणमा पीसीबीले पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको आरोपसमेत लागेको छ। यो माग पूरा नभएसम्म खेलाडीले अनुमति पाउने हुन् वा होइनन् भन्ने अन्योल कायमै छ।

क्यान अध्यक्ष चन्दले यस्तो कदमले फ्रेन्चाइज क्रिकेटको विकासमा असर पार्न सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताबाट लिगको प्रतिस्पर्धात्मक स्तर बढाउने प्रयास भइरहेका बेला अनुमति प्रक्रियामै अवरोध आएपछि आयोजक र टोलीहरू समस्यामा परेका छन्।

एनपीएलका कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानी खेलाडी अनुबन्ध गरेका छन्। कर्णाली याक्सका साहिबजादा फरहान स्वदेश फर्किसकेका छन् भने हुसेन तलतको सहभागिता अझै निश्चित भएको छैन। जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई टोलीमा राखेको थियो। चितवन राइनोजले उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई अनुबन्ध गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *