बूढीगण्डकीको बाढीले गोरखामा बितण्डा, ३५ घर बगायो, बजार र पुलहरू तहसनहस
गोरखा । बूढीगण्डकी नदीमा असोज २५ गते आएको भीषण बाढीले गोरखाको उत्तरी क्षेत्रलाई तहसनहस पारेको छ। बाढीले बस्ती, बजार, मोटरेबल पुल, झोलुङ्गे पुल तथा सडकमा ठूलो क्षति पुर्याएको छ। कतिपय घर बस्नै नमिल्ने भएका छन् भने दर्जनौँ परिवार विस्थापित भएर त्रिपालको सहारामा बस्न बाध्य भएका छन्।
बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने पक्की मोटरेबल पुल बगाएको छ। सोती बजारसहित बूढीगण्डकी नदी किनारका विभिन्न बस्तीमा समेत क्षति पुगेको छ। धार्चे गाउँपालिका–५ को माछिखोला बजारमा घर, पसल र अन्य भौतिक संरचना क्षतिग्रस्त भएका छन्। केरौँजा जाने झोलुङ्गे पुल बगाएको बाढीले सल्लेरी र जगत बजारलाई पनि प्रभावित पारेको छ।
चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङबीच सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि थुनिएको पानी एक्कासि फुटेर बूढीगण्डकीमा ठूलो बाढी आएको बताइएको छ। नदीको बहाव बढेपछि तटीय क्षेत्रका बस्ती डुबान र कटानमा परेका हुन्।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको बताइएको छ। दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुगेको छ। आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका अधिकांश घर पनि बस्न नमिल्ने अवस्थामा पुगेका छन्।
स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारका ५८ घरधुरीमध्ये अधिकांश घरमा ठूलो क्षति पुगेको छ। बूढीगण्डकीले धार परिवर्तन गर्दै बस्तीमा प्रवेश गरेपछि स्थानीयका घर, पशुचौपाया र घरायसी सामग्रीसमेत बगाएको हो।
बाढीबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले त्रिपाल उपलब्ध गराएको छ। स्थानीय इन्द्रबहादुर आले मगरका अनुसार शान्तिबजारका २७ परिवार अहिले त्रिपालमा बसिरहेका छन्। घरबार गुमाएका परिवारको दैनिक जीवन थप कष्टकर बनेको छ।
धार्चे गाउँपालिका–५ माछिखोलाका स्थानीय लालप्रसाद गुरुङको गोदाममा मात्रै करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ। बाढीले धार्चे गाउँपालिका–२ केरौँजाको मुख्य आवतजावत मार्गमा रहेको पुल र खोर्लाबेंसीको पुलमा समेत क्षति पुर्याएको छ। पुलहरू क्षतिग्रस्त भएपछि स्थानीयको आवतजावत र सामान ढुवानीमा समस्या भएको छ।
बाढीले गोरखाको उत्तरी क्षेत्रका बस्ती, बजार र यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि जनजीवन प्रभावित बनेको छ। विस्थापित परिवारको सुरक्षित बसोबास, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र जोखिममा रहेका बस्तीको संरक्षण तत्काल चुनौती बनेको छ।


















