शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य गर्न प्रचण्डको अपील


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपील गरेका छन् ।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी अध्यक्ष प्रचण्डले आफूहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर नेपालमा शान्तिको नयाँ मोडल स्थापित गर्न चाहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिन, दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासहित यो प्रक्रियामा सहकार्य गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपील गर्दछु।’
उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।