`

सहारा सहकारीको रकम अपचलनको अभियोगमा चितवनमा रविविरुद्ध जाहेरी

Nepal One HD ५ मंसिर २०८१ १८:५५
प्रमुख खबर

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगीको आरोपमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएका हुन् ।

लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी परेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको उनीहरुको आरोप छ ।

यसअघि यही मुद्दामा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। पहिलो चरणको अनुसन्धानमा सहारा सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै सरकारी वकिल कार्यालयले नै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो ।

सहारा सहकारीबाट गोर्खा मिडियामा ४७ करोड बराबरको कारोबार भएको देखिएको छ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको ठगी आरोपमा पक्राउ परेका उनीहरुमाथि बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पनि अनुसन्धान भइरहेको छ भने काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगका पक्राउ पुर्जी जारी भइसकेको छ ।


प्रतिक्रिया