नेपाल टेलिकमद्वारा दाङमा स्वास्थ्यस्वयंसेवीका डिजिटल सञ्चार सम्बन्धी अभिमुखिकरण कार्यक्रम, सुविधा दिन माग


दाङ । नेपाल टेलिकमले स्वास्थ्य स्वयंसेवीकाहरुलाई लक्षित गर्दै दाङमा डिजिटल संचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल टेलिकमको साझेदारी तथा नेपाल वान एचडी र ग्लोबल एटु जेड कन्सल्टेन्टको आयोजनामा शनिबार दाङको घोराहीमा डिजिटल सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । प्राधिकरणले महिला समुदायिक स्वास्थ्यस्वयंसेवीकासँग नेपाल टेलिकम नामक आयोजना गरेको हो ।
दुर्गम क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ९० जना बढी स्वास्थ्यस्वयंसेवीका तथा जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममले अहिलेको डिजिटल युगको आगमनसँगै सूचना तथा प्रविधिको उपयोग गरेर स्थानीय स्वास्थ्य सेवालाई सुदृढ गर्न सक्ने अवसरका रुपमा प्रस्तुत गरेको छ ।
कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रविधिको प्रयोग र डिजिटल सक्षमता सम्बन्धी आधारभूत ज्ञान प्रदान गरी उनीहरुलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ यस अभिमुखीकरण कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई मोबाइल प्रविधि, सामाजिक सञ्जाल, स्वास्थ्य एपसम्बन्धी जानकारी दिनुका साथै व्यावस्थापन लगायतका कुराहरुमा दक्ष बनाउने उद्देश्य लिएको छ ।
कार्यक्रममा स्वास्थ्यसेवीकाहरुले आफ्ना समस्या राखेका थिए । २०५२ सालदेखि स्वास्थ्यसेवीकाको रुपमा कार्यरत शान्ता केसीले आफूहरुलाई सेवा सुविधामा सरकारे वेवास्ता गरेको बताइन् । घरको काम छाडेर स्वास्थ्यलाई बढावा दिँदा पनि वेवास्ता गरिएको गुनासो गरिन् ।
उनले मृत्यु भएमा पनि स्वास्थ्यसेवीकाले मृत्यु हुँदा समवेदना समेत नपाएको बताइन् । उनले भनिन्, ‘मैले काम सुरु गर्दा १५ रुपैयाँ नास्ता र ५० रुपैयाँ भत्ता थियो । टाढाटाढा गएर गर्भ जाँच गर्नुपथ्र्यो । ९९ वटा सूचकको तथ्यांक संकलन गर्नुपथ्र्यो । आफ्नो मानो खाएर आफ्नो खर्च गरेर गर्दै आएका छौं । तर ६० वर्ष पुगेपछि अवकासमा जानुपर्छ, तर खाली हात जानुपर्ने अवस्था छ । अहिले ५० रुपैयाँ भत्ताबाट ४ सय पुगेको छ । तर समय अनुसार त्यो भएन । हामीलाई भाडा पनि नपुग्ने अवस्था छ ।’
२०४६ सालदेखि स्वास्थ्यसेवीकको रुपमा कार्यरत माया चौधरीले राज्यले आफूहरुको श्रमको मूल्य दिनुपर्ने बताइन् ।
त्यस्तै, स्वास्थ्यसेवीका वीमाकुमारी शर्माले पनि सरकारले सेवा सुविधा नपाएको गुनासो गरिन् । नगरपालिकाले बजेट सकिएको भन्दै श्रमको मूल्य नदिएको बताइन् । तालिम भत्ता चारसय रुपैयाँ मात्र दिने गरेको र त्यसबाट आफूहरुलाई समस्या भएको बताइन् ।
कार्यक्रममा स्वास्थ्यसेवीकाहरुले दुर्गम क्षेत्रमा जाँदा मोबाइल नेटवर्कले काम नगर्ने भएकाले समस्या भएको गुनासो गरेका थिए । उनीहरुले आफूहरुलाई प्रविधिको प्रयोग गर्नसमेत समस्या भएको बताएका थिए । एक त आफ्नै खर्चमा गर्नुपर्ने, डाटासमेत नचल्ने समस्या भएकाले राज्यले स्वास्थ्यसेवीको लागि यो सुविधा उपलब्ध गराउन माग गरेका थिए ।
दाङबाट सुरु भएको कार्यक्रम लुम्बिनी प्रदेशभर गर्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।











