धान दिवसको रमाइलो (फोटोफिचर)


काठमाडौँ – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा बेँसीसहर नगरपालिका-८ दनाई फाँटमा आइतबार बिहान आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रममा सहभागीहरू धान रोप्दै
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले आज काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित खेतमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज खजुरा -३ धौलागिरि गुल्मिटोलका जनस्वास्थ्य आमा समूह धौलागिरिमा खेत रोपेर धान दिवस मनाउँदै । तस्बिर: रासस