“अष्ट्रेलियामा क्यान्सरको जोखिम घट्दै, चार दशकमा उल्लेखनीय सुधार”


अष्ट्रेलियामा विगत चार दशकदेखि क्यान्सरको रोकथाम, प्रारम्भिक परीक्षण (स्क्रिनिङ) र आधुनिक उपचारमा गरिएको निरन्तर लगानीका कारण दुई लाख ३० हजारभन्दा बढी नागरिकको ज्यान जोगिन सफल भएको एक अध्ययनले देखाएको छ ।
मंगलबार सार्वजनिक गरिएको अध्ययन अष्ट्रेलियन एन्ड न्यूजिल्याण्ड जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित भएको हो । अध्ययनका अनुसार धूमपान विरुद्धका अभियानहरूले फोक्सोको क्यान्सरबाट हुने मृत्युमा उल्लेखनीय कमी ल्याएका छन् । साथै, स्तन, पाठेघरको मुख र पेटको क्यान्सरको प्रारम्भिक पहिचान र सुधारिएको उपचारले पनि मृत्युदरमा उल्लेखनीय गिरावट ल्याएको छ ।
अनुसन्धानको नेतृत्व गरेकी क्यान्सर काउन्सिल भिक्टोरियाकी क्यान्सर विज्ञ उपप्रमुख ब्रिजिड लिंच भन्नुभयो, “हामीले विगतका दशकहरूमा स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरूको सकारात्मक परिणाम अहिले देखिन थालेको छ । यो क्रमशः प्रभाव बढ्दै जाने प्रक्रिया हो ।”
अध्ययन अनुसार, सन् १९८० यता पुरुषमा क्यान्सरबाट मृत्यु हुने जोखिम २० प्रतिशतले र महिलामा ११ प्रतिशतले घटेको छ ।
तर, अध्ययनले मस्तिष्कको क्यान्सरबाट हुने मृत्यु दर भने अझै बढ्दो क्रममा रहेको चेतावनी दिएको छ। यस वृद्धि पछाडि मुख्यतः अनुचित जीवनशैली र दीर्घकालीन संक्रमणहरू जिम्मेवार देखिएका छन् ।
विशेषज्ञहरूका अनुसार, अष्ट्रेलियाको बुढ्यौली जनसंख्या तीव्र गतिमा बढिरहेको हुँदा सन् २०४४ सम्ममा क्यान्सरका बिरामीहरूको संख्या ५० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैले, उनीहरूले क्यान्सर नियन्त्रणका कार्यक्रमहरूमा अझ व्यापक र दीर्घकालीन लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।