देशमा धेरै काम गर्न सकिने ठाउँ छ : कुलपति राई


काठमाडौँ, ३१ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईले देशमा दिनैपिच्छे भ्रष्टाचारका मात्रै समाचार आइरहेको भन्दै यसले देशलाई नै पछि पारिरहेको बताउनुभएको छ । नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै कुलपति राईले देशका नेताहरूका नाम जोडेर आइरहने दिनैपिच्छेका हेडलाइनले पीडादायी अवस्था सिर्जना भएको बताउनुभयो ।
उहाँले भ्रष्टाचार नहुने हो भने देशका धेरै क्षेत्रमा धेरै काम गर्न सकिने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा कुलपति राईले साहित्यिक पत्रकारिता साहित्यको रङ्गमञ्चमा प्रवेश गर्ने साहित्यकारको मूलद्वार रहेको बताउँदै यसको छुट्टै महत्त्व रहेको बताउनुभयो । आफूले पनि सुरूमा पत्रपत्रिकामार्फत लेखेर कवि बनेको स्मरण गराउँदै उहाँले साहित्यिक पत्रकारिताको क्षेत्रमा केही गरौँ भनेर गत वर्षदेखि दुईजना साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न थालिएको बताउनुभयो ।
राज्यले अझै पनि साहित्यिक पत्रकारहरूलाई खास सम्झन नसकेको र त्यसको मुख्य कारण राज्यमा बस्ने मान्छे कस्तो छ, उनीहरूको विचार र चेतना कस्तो छ भन्ने कुराले निर्धारण गर्ने बताउनुभयो । उहाँले अहिले एआइका कारण पत्रपत्रिकामाथि चुनौती सिर्जना गरेको उल्लेख गर्दै कागजबाट विधुत्मा पुगेपनि इतिहास भुल्न नहुनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “एआईले कविता लेख्न सुरू गरेको छ, तिमीहरूको कविता के हुन्छ भनेर मलाई सोध्ने गरिएको छ, मैले एआईले आँसु झार्छ कि झार्दैन ? भनेर सोध्ने गरेको छु , त्यसकारण मानिसको अन्तरमन जस्तो एआई हुँदैन, त्यसको महत्व छुट्टै छ ।” कार्यक्रममा सङ्घले भोजपुरी भाषाको पत्रिका ‘भोजपुरिंया माटी’का अग्रज साहित्यिक पत्रकार रामप्रसाद साह र गुल्मीका अग्रज साहित्यिक पत्रकार शशी पन्थीलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेको थियो ।
कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले गुठका मानिसलाई सम्मान गर्ने विकृति बढिरहेका बेला यहाँ वास्तविक र योग्य व्यक्तिलाई सम्मान गरिएकोमा प्रशंसा गर्नुभयो । उहाँले सरकारले खासै साहित्यिक पत्रकार र पत्रकारितालाई महत्त्व नदिएकोमा दःुख व्यक्त गर्नुभयो ।
पुरस्कृति व्यक्ति शशी पन्थीले पुरस्कार वा सहयोगको आशाले काम गरेको होइन काम गर्दै जाँदा फल पनि लाग्लो रहेछ भनेर आज थाहा पाएको बताउनुभयो । अर्का सम्मनित व्यक्ति रामप्रसाद साहले साहित्यक पत्रकारिता गर्न गाह्रो भएको र अझै प्रकाशन गर्न झनै गाह्रो रहेको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा अग्रज पत्रकार पुरूषोत्तम दाहालले साहित्यसम्बन्धी पत्रकारिता अग्नि तपस्या जस्तो लाग्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो कसरी चलाइरहेको होला भनेर छक्क परिरहेको छु । शशीजीले ५२ वर्षदेखि हाम्रो पुरूषार्थ चलाइरहनुभएको छ । अहिले हातहातमा पत्रकारिता पुगेको छ, एआइले गर्दा चुनौतीपूर्ण छ ।” उहाँले साहित्य भनेको मान्छेको चेतनासँग जोडिएको बताउनुभयो ।
सङ्घका अध्यक्ष मोहन दुवालले संस्था स्थापना भएको १९ वर्ष पुगिसकेको र संस्थाले केही प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले कसैको आशा गर्नुभन्दा पनि आफैँले केही प्रयास गर्नुपर्ने बताउनुभयो ।