पर्यटनमन्त्रीको एक वर्ष : नीतिगत सुधार र पर्यटन कूटनीति विस्तार


काठमाडौँ, ३२ असारः कुनै पनि सरकारको मन्त्री पदको मूल्याङ्कन मन्त्रीले गरेको काम र समग्र विकासमा समर्पित प्रयासका आधारमा गरिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीगित सुधार, पर्यटन कूटनीति विस्तार, सम्पदा, पर्यटन, हवाई सुरक्षा र सांस्कृतिक उत्थानदेखि उत्कृष्ट पर्यटनमन्त्री अवार्ड प्राप्तलगायतका उपलब्धि हासिल भएका छन् ।
मन्त्री पाण्डेले कार्यभार सम्हालेलगत्तै देशमा दुई हवाई दुर्घटना भए । उहाँका लागि यो पहिलो गाँसमै ढुङ्गा थियो । सङ्कट र चुनौतीका चाङलाई पन्छाएर मन्त्री पाण्डे नेतृत्वको मन्त्रालयले नीतिगत स्पष्टता, अन्तरराष्ट्रिय विश्वास पुनःस्थापना, संरचनागत सुधार र ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ ।
नीतिगत अस्पष्टताका कारण युरोपेली सङ्घ (इयु) को सुरक्षा चासो (कालोसूची) ले नेपालको हवाई उड्डयन क्षेत्रलाई सङ्कटतर्फ धकेलिरहेको थियो । सो सङ्कट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक मन्त्रिपरिषद्मा पेस भएर संसद्मा सैद्धान्तिक छलफल गरी र हाल संसद्को विषयगत समितिमा छलफलमा छ । पर्यटनमन्त्रीलाई यी दुई वटा विधेयक संसद् लैजान कठिन थियो । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासमा लिएर उहाँले विधेयकलाई अघि बढाउनुभयो ।
प्रतिनिधिसभामा यस विधेयकका विषयमा भएका सैद्धान्तिक छलफलमा सहभागी ७५ सांसदले मन्त्री पाण्डेको प्रशंसा मात्र गरेनन्, यसलाई चाँडोभन्दा चाँडो पारित गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए । यससँगै नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्दै समग्र अध्ययन प्रतिवेदन तयार पारियो ।
उक्त प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा हाल मन्त्रालयले काम गरिरहेको छ । पर्यटनमन्त्रीले नीतिगत सुधारलाई विशेष महत्व दिनुभएको छ । जसमा पर्यटन विधेयक, भौतिक सांस्कृतिक सम्पदा विधेयक, प्रतिलिपि अधिकारसम्बन्धी विधेयक र पर्यटन बोर्ड ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा दर्ता भएका छन् । नीतिगत पक्षमा उल्लेखनीय सुधारको अर्को प्रमाण हो मन्त्रिपरिषद्बाट स्वीकृत भएको पर्यटन नीति २०८२ ।
यसैगरी, संस्कृति नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको छ र हवाई नीति निर्माण अन्तिम चरणमा पुगेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।
साथै, पर्वतारोहणसम्बन्धी नियमावली र हवाइसेवा व्यवस्थापन नियमावली तथा क्यासिनो नियमावली कार्यान्वयनमा आइसकेका छन् । यसले नीतिगत स्थायित्व मात्र होइन, अनुशासन र विश्वसनीयता पनि सिर्जना गरेको छ । नयाँ पर्यटन नीति, सुधारिएको नियमावली र विधेयकको जगमा उभिएर मन्त्रालयले पर्यटन महाशाखामार्फत उल्लेखनीय कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन विधेयक २०८२ को मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भई सङ्घीय संसद्मा दर्ता गरिएको छ । नेपाल पर्यटन बोर्ड (पहिलो संशोधन) विधेयक मन्त्रिपरिषद्मा पेस गरिएको छ । पर्यटन दशक २०२५–२०३५ कार्यान्वयनको तयारीस्वरूप रणनीतिक कार्ययोजना निर्माण भई स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।
यसैबीच, नयाँ क्यासिनो नियमावली २०८२ तर्जुमा भई कार्यान्वयनमा आइसकेको छ । क्यासिनो व्यवसायसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादसम्बन्धी गतिविधिलाई रोक्नका लागि मन्त्रालयले नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीलगायतको सहभागितामा छलफल गरेको थियो । उक्त छलफलमा आएका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिएका छ्न् ।
नेपालका लागि पर्वतारोहण केबल साहसिक खेल नभएर पर्यटन र राजस्व स्रोत पनि हो । पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियामावली २०८१ लागू गरिएको छ । यससँगै विभिन्न ५७ वटा हिमाल आरोहणका लागि खुला गरिएका छन् । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमार्फत ९१५ जना दक्ष जनशक्ति उत्पादन गरिएको छ । साथै, प्रतिष्ठानका विद्यार्थीद्वारा सात हजार १२६ मिटर अग्लो हिमलुङ हिमाल र छ हजार ४७६ मिटर अग्लो मेरापिकको सफल आरोहण गराइएको छ ।
अन्तरराष्ट्रिय सहकार्य, सांस्कृतिक पुनर्जागरण र सङ्घीय समन्वय
नेपालको पर्यटन, संस्कृति तथा सम्पदा प्रवर्द्धनका क्षेत्रमा पछिल्लो एक वर्षमा देखिएको प्रगति केवल नीति निर्माण, भौतिक पूर्वाधार वा व्यवस्थापनमा मात्र सीमित छैन । यसले राष्ट्रिय छविलाई अन्तरराष्ट्रिय कूटनीतिक, सांस्कृतिक र पर्यटन सञ्जालमा मजबुत रूपमा उभ्याउने दिशा दिएको छ । नेपालको पर्यटन विस्तारका लागि अन्तरराष्ट्रिय सहकार्य अनिवार्य रहेको यथार्थलाई आत्मसात् गर्दै पर्यटनमन्त्री पाण्डेले थाइल्याण्ड र ओमान सरकारसँग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । यसले पर्यटन प्रवर्द्धनका साथै दुई राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने विश्वास लिइएको छ ।
पर्यटनमन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको नियमित सञ्चालन लागि मन्त्रिपरिषद्वारा कार्ययोजना स्वीकृत गराई कार्यान्वयनमा ल्याउनुभएको छ । साउथ एशियाका प्रतिनिधिको उपस्थितिमा साउथ एशिया ड्रोन फोरमकोसमेत आयोजना गरी मन्त्री पाण्डेले यसतर्फ नीतिगत पहलको थालनी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै क्रममा, २०८१ माघ २४ र २५ गते काठमाडौँमा सम्पन्न भएको बिम्स्टेक राष्ट्रका टुर अपरेटरहरुको तेस्रो बैठकले क्षेत्रीय पर्यटन सहकार्यलाई थप बलियो बनाएको छ ।
संस्कृति तथा सम्पदा संरक्षणमा पनि मन्त्रालयले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका ९२० सम्पदामध्ये ८०० सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी सम्पदाहरूको काम अन्तिम चरणमा पुगेको छ ।
हालै गोरखाको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण टासी छोलिङ गुम्बा र छेकम गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । जसले स्थानीय समुदायको धार्मिक जीवन मात्र होइन, आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
लुम्बिनी खतराको सूचीबाट हट्यो
पर्यटनमन्त्री आउनुअघि युनेस्कोको विश्वसम्पदामा सूचीमा सूचीकृत र विश्वभरका बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र लुम्बिनी खतराको सूचीमा परेको थियो । यसका लागि मन्त्री पाण्डेले युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटसँग भेट गर्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल गर्नुभयो ।
त्यसका लागि मन्त्री पाण्डेले सुधारात्मक काम भइरहेको, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको उल्लेख गर्दै लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको मन्त्री पाण्डेले बताउनुभएको थियो । उहाँले अन्तरराष्ट्रिय समुदायलाई विश्वासमा लिएर लुम्बिनीलाई खतराको सूचीबाट जोगाउने काम गर्नुभयो ।
मन्त्रालयअन्तर्गत निकायको छपाई प्रज्ञा–प्रतिष्ठानबाटै
पर्यटनमन्त्री पाण्डेले मन्त्रालयअन्तर्गतका सम्पूर्ण छपाइको काम नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेसबाट गर्ने निर्णय गर्नुभयो । जसले गर्दा छपाइमा हुने खर्च मन्त्रालय मातहतमा रहँदा यसमा हुने अनियमितता पनि रोकिएको दाबी गरिएको छ । पर्यटनमन्त्रीले गरेका नीतिगत सुधारले नेपाल सांस्कृतिक संस्थानले ६९.४७ प्रतिशतले आम्दानीमा वृद्धि गरेको छ । जुन नेपालका संस्थानमध्ये यति धेरै नाफा कमाउने सांस्कृतिक संस्थान मात्रै हो । मन्त्री पाण्डेले पर्यटन विभागमार्फत आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई हस्तान्तरण गरेर भए पनि कार्यान्वयनमा ल्याउने काम गर्नुभयो ।
यस्ता दीर्घकालीन संरचनागत र नीतिगत प्रयाससँगै मन्त्रालयले विभिन्न अन्तरराष्ट्रिय फोरममा सहभागी हुने र नेपालमा आयोजना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । जसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायलाई नेपालप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ । सगरमाथा दिवस (मे २९) का अवसरमा देशविदेशका हिमाल आरोहीलाई सम्मान गरेर पर्वतीय पर्यटनको महत्व अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको थियो ।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) मा निजी क्षेत्र, सरोकारवाला संस्था तथा पर्यटकसँग समन्वयमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू भए । नेपाल पर्यटन बोर्डमार्फत सातै प्रदेशमा भएका विभिन्न कार्यक्रममा सहभागी हुने, पर्यटक प्रवद्र्धकसँगको छलफल गर्ने कामले पर्यटन क्षेत्रको समावेशी विस्तारमा मन्त्रीको दृढता प्रस्तुत भएको छ । यी कार्यक्रमहरू, कार्यक्रमको प्रयोजन र सहभागिताको स्वरूप हेर्दा, सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्ध ऐन, २०७७ को कार्यान्वयनमा मन्त्रालयले देखाएको प्रतिबद्धताको प्रमाण मान्न सकिन्छ ।
उत्कृष्ट पर्यटनमन्त्री अवार्ड
मन्त्री पाण्डेले विधेयक पारित र नीतिनिर्माणमा मात्र उपलब्धि हासिल गर्ने नभई अन्तरराष्ट्रियस्तरमा उत्कृष्ट पर्यटनमन्त्रीको अवार्ड प्राप्त गर्नुभयो । ‘वल्र्ड टुरिजम एण्ड एभिएसिन समिट–२०२५’ का अवसरमा जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा नेपालको पर्यटन मन्त्रालयको संरचना, कानुन र कार्यान्वयन पक्षमा देखिएको सुधारका पहलको मूल्याङ्कनका आधारमा मन्त्री पाण्डेलाई उत्कृष्ट पर्यटनमन्त्रीको अवार्ड प्रदान गरिएको थियो । यतिमात्र होइन मन्त्रीहरुको अर्धवार्षिक मूल्याङ्कनमा ८० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्नुभएको थियो ।