ईरानद्वारा आणविक निगरानी संस्थासँग सहकार्य स्थगित, सुरक्षा परिषद्को निर्णयको आलोचना


संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले ईरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रस्ताव अस्वीकृत गरेपछि, ईरानले राष्ट्रसङ्घीय आणविक निगरानी संस्थासँगको सहकार्य प्रभावकारी रूपमा रोक्ने घोषणा गरेको छ ।
यो निर्णय ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को शनिबार बसेको बैठकबाट गरिएको हो, जसको अध्यक्षता राष्ट्रपति मसउद पेसेश्कियानले गरेका थिए ।
परिषद्ले फ्रान्स, बेलायत र जर्मनी (ई–३ राष्ट्रहरू)ले लिएको कदमलाई ‘अविवेकी’ भन्दै कडा आलोचना ग¥यो । परिषद्ले स्पष्ट रूपमा यस्ता कदमहरू ईरानको राष्ट्रिय हितविपरीत रहेको उल्लेख गरेको छ ।
यद्यपि ईरानले अहिलेसम्म आफ्नो आणविक कार्यक्रमबारे समाधान खोज्न र पारदर्शिता देखाउन प्रयत्न गर्दै आएको दाबी गरेको छ । साथै, युरोपेली राष्ट्रहरूको एकपक्षीय व्यवहारका कारण सहकार्य निलम्बन गर्नुपरेको ईरानले जनाएको छ ।
बैठकले परराष्ट्र मन्त्रालयलाई आवश्यक कूटनीतिक पहल जारी राख्दै राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्न निर्देशन दिएको छ ।
शुक्रबार, सुरक्षा परिषद्मा सन् २०१५ मा भएको आणविक सम्झौता (जेसीपीएओ)अन्तर्गत ईरानमाथिको प्रतिबन्ध सहज गर्ने प्रस्ताव अस्वीकार गरिएको थियो । अघिल्लो महिनामा ई–३ राष्ट्रहरूले सो सम्झौतामा रहेको ‘पुनः प्रतिबन्ध लगाउने व्यवस्था’ सक्रिय गरेका थिए, जसअनुसार ३० दिनभित्र प्रतिबन्ध पुनः लागू हुने प्रावधान छ ।
यी प्रतिबन्धहरू यही महिनाको अन्त्यसम्म लागु हुने अपेक्षा गरिएको छ ।
सन् २०१८ मा संयुक्त राज्य राष्ट्रले एकपक्षीय रूपमा सम्झौताबाट बहिर्गमन गरेपछि ईरानले पनि क्रमशः सम्झौताको पालना गर्न छोडेको हो ।