`

गाजामा इजरायली हमलामा ९१ को मृत्यु, तेल अभिवमा युद्धविरामको माग

Nepal One HD ५ असोज २०८२ १६:३०
विश्व

इजरायली सेनाको तीव्र हवाई र स्थल आक्रमणले शनिबार गाजामा एकै दिन ९१ जना प्यालेस्टिनीको ज्यान लिएको अल जजिराले जनाएको छ । मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तरी गाजाबाट भागिरहेका नागरिकहरू पनि परेका छन् ।

आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई निशाना बनाएको थियो । यसै क्रममा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–सिफाका निर्देशक मोहम्मद अबु साल्मियाको परिवार घरमै मारिएको थियो ।

हमासले यसलाई ‘चिकित्सकहरूलाई सहर छोड्न बाध्य पार्ने आतङ्कवादी सन्देश’ भन्दै निन्दा गरेको छ । अर्को आक्रमणले गाजाको नासर क्षेत्रमा ट्रकमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो ।

अल जजिराकी संवाददाता हिन्द खोदारीका अनुसार हजारौँ विस्थापित निरन्तर बमबारी, तोप आक्रमण र ड्रोन आक्रमणबाट भागिरहेका छन् । इजरायली सेनाले विस्फोटक भरिएका रोबोट प्रयोग गरी क्षेत्र ध्वस्त पारिरहेको बताइएको छ । उद्धारकर्ताहरू फसेका घाइतेहरूसम्म पुग्न नसकेको पनि उनले बताए ।

अगस्टदेखि मात्रै गाजा सहरमा करिब चार लाख ५० हजार मानिस विस्थापित भइसकेका छन् । इजरायली सेनाले दुई हप्तामा २० वटा टावर भवन भत्काएको दाबी गरेको छ । धेरै विस्थापितहरूले सडक किनारमा त्रिपाल हालेर कठोर परिस्थितिमा बस्न बाध्य भएको जनाइएको छ ।

दक्षिणी अल–मवासीमा पनि अवस्था गम्भीर छ । “पानी, स्वास्थ्य सेवा र स्वच्छताको पहुँच अत्यन्तै कठिन छ, जसले स्वास्थ्य सङ्कट निम्त्याउन सक्छ”, डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) का मिचेल फोटिआडिसले भने ।

हमासले गाजामा बाँकी ४८ बन्दीहरू आक्रमणका कारण खतरा बढेको चेतावनी दिएको छ । यसको सशस्त्र शाखा कासम ब्रिगेडले बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ ।

यसैबीच, हजारौँ मानिसले तेल अभिवमा युद्ध रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग सम्झौता गरी बन्दीहरू मुक्त गर्न दबाब दिए । प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि इजरायललाई सम्झौता गर्न दबाब दिन आग्रह गरे ।

अल जजिराका पत्रकार हमदाह सलहुतका अनुसार यी प्रदर्शनहरूले इजरायली सरकारलाई अझै असर पारेको छैन । बरु नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले प्रदर्शनलाई इजरायलको शत्रुको पक्षमा काम गरेको भन्दै आलोचना गरेको छ ।

बन्दीका परिवारहरूले भने निरन्तर सैन्य कारबाहीले आफ्ना प्रियजनहरूको जीवन जोखिममा परेको बताएका छन् । हप्तौँदेखि भइरहेका प्रदर्शनहरू ‘पर्याप्त नै पर्याप्त’ भन्ने सन्देश पठाउँदै हाल पश्चिम जेरुसेलममा नेतान्याहुको घरअगाडि समेत पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *