तलेजु भवानीलाई दसैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न


भक्तपुर, १३ असोजः प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दसैंँ घर भित्र्याएर तुलजा यात्रा सम्पन्न भएको छ । तुलजा यात्राका क्रममा आज शुभसाइतमा श्री तलेजु भवानीलाई मूल चोक दक्षिण देवगृहबाट मूल चोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको छ ।
राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतासमेत दसैँ घर भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजु यात्राका क्रममा १९ जना पुजारीले जामा, पगरी, भोटो, खास्टोसहितको पुरातन पोसाक लगाएर देवीदेवतालाई बोकेर दसैँ घर भित्रयाइएको हो । धिमे बाजा, खिः बाजा र भजनसहित तुलजा यात्रा गर्ने क्रममा मूल चोकमा तुलजा भवानीको दर्शन गर्न स्थानीयको भीड लागेको थियो ।
मूल नाइके जोशीले राज प्रतिनिधिस्वरुप नेपाली परम्परागत पोसाक लगाएर खड्ग बोकी यात्रा सम्पन्न गरिएको जानकारी दिनुभयो । आज सप्तमीदेखि विजयादशमीको दिनसम्म चार दिन तलेजु एवं अन्य देवता घरमा राखिने परम्परा छ ।
विजयादशमीको दिन देवी विसर्जन गरेपछि तलेजुलाई टीका तथा जमरा लगाएसँगै कुमारी चोकस्थित दसैँघरबाट मूलचोकको दक्षिण देवगृहमै भित्र्याउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरिएको छ ।