आश्विन शुक्ल पूर्णिमाः हनुमानढोका दरबारमा अखिल बलिपूर्ति


काठमाडौँ, २० असोजः हनुमानढोका दरबारको दसैँघरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरेसँगै यस वर्षको बडादसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका पुरातत्व अधिकृत सविताकुमारी जोशीले ५४ बोकामध्ये नौ बोकालाई दसैँघरमा र बाँकी बोका तथा ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको बताउनुभयो ।
अखिल बलि पूर्ति गरिएसँगै दसैँघरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ । जमरा सेलाएसँगै टीका र प्रसाद लगाउने क्रम अन्त्य भएको हो ।
यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज ६ गते घटस्थापनाका दिन घरघरका पूजा कोठा एवं दसैँघरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा सेलाएका छन् ।
आज राति धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातमा जाग्राम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ । आजको दिनलाई कोजाग्रत पूर्णिमा र कौमुदी पूर्णिमा पनि भन्ने गरिन्छ । आज जाग्राम बसेर महालक्ष्मीको पूजाआराधना गरे घरमा लक्ष्मीले बास गर्ने धार्मिक विश्वास छ । नेपालमा सबैभन्दा बढी समय बिदा हुने बडादसैँ पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ ।