`

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

Nepal One HD १० कार्तिक २०८२ २१:०९
अध्यात्म

काठमाडौँ । भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन् । मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत विभिन्न समुदायको साझा सहभागितासहित समावेशी रूपमा छठ मनाइएको हो । नेपाल-भारत सीमावर्ती भद्रपुर-५ को मेची नदी किनारमा यस वर्ष एक हजारभन्दा बढी पूजा स्थल निर्माण गरिएको छ ।

करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैतर्फ हिमाल, पहाड र तराईका बासिन्दाले एकसाथ अर्घ्य अर्पण गर्दै साझा पर्वको रूपमा छठ मनाएको मैथिल समाजका अग्रज विकासकुमार गुप्ताले बताए । पूजा स्थल वरपर सुरक्षाको व्यवस्था नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त गस्तीमार्फत गरेका छन् भने विभिन्न सामाजिक संघ-संस्थाले मेलामा आएका भक्तजनका लागि नि:शुल्क पानी र चियाको व्यवस्था गरेका छन् ।

पछिल्ला वर्षमा भद्रपुर र भारतको गलगलियाका स्थानीय बासिन्दाले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेका छन् । चार दिनसम्म चल्ने यस पर्वमा तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न हुने परम्परा छ ।

मैथिल समाजका अग्रज गुप्ताका अनुसार जनसहभागिताका दृष्टिले नेपालको जनकपुरपछि दोस्रो स्थान भद्रपुर रहेको दाबी गरे । झापाको मेची, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई नदी र रतुवा खोलाका किनारमा पनि भव्य रूपमा सजावटसहित छठपूजा गरिँदै आएको छ । तीमध्ये भद्रपुरस्थित मेचीघाटमा सर्वाधिक भीड हुने गरेको छ ।यसैबीच, छठ पर्वको अवसरमा मेचीघाटस्थित छठी माता मन्दिर परिसरमा गंगा आरतीको विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त आरतीको शुभारम्भ भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *