पाल्पाको सत्यवती मेला, जहाँ चिच्चाएर वर मागिन्छ (तस्बिरहरु)
काठमाडौँ । ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिँगो तालको छेउमा गाड्ने, पूजा गर्ने र अनि चिच्चाएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ । यो दृश्य हो पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलाको ।
पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लागेको ५ दिने मेला अन्तर्गत अन्तिम दिन बुधबार अत्यधिक भीड लागेको थियो । मेला १५ गतेदेखि नै चले पनि मंगलबार बेलुकीदेखि बुधबार बेलुकीसम्म श्रद्धालुको भीड लागेको थियो । यहाँको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार २४ घण्टामा १ लाख ५० हजार भन्दा बढी श्रद्धालुले यसपटक सत्यवती बज्यैको दर्शन गरेका छन् ।
सत्यवती मेलामा पाल्पाबाहेक छिमेकका रुपन्देही, कपिलवस्तु, नवलपुर, अर्घाखाँची, स्याङ्जा साथै कास्की, बाग्लुङ्, काठमाडौ, तनहुँ, चितवनबाट श्रद्धालु आउने गर्छन् । यसबाहेक छिमेकी मुलुक भारतका गोरखपुर, सुनौली, नौतुना, बस्ती, नौगढसम्मबाट सत्यवती ताल र यहाँ रहेकी बहिरी बज्यैको दर्शन गर्न, मेला भर्न र भाकल पूरा हुनेहरु भाकल अनुसारको बोका, कुखुरा लिएर आउने गर्छन् ।
धार्मिक पर्यटकीय स्थल सत्यवती तालमा कान कम सुन्ने बज्यै भएको र चिच्चाएर वर माग्दा पुग्ने जनविश्वास रहेको छ । तालको वरपरको क्षेत्रमा बज्यै उत्पत्ति भएको विश्वास छ । कानले नसुन्ने भएकाले बज्यैलाई चिच्याएर वर माग्ने चलन रहेको जनविश्वास छ ।

