`

विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

Nepal One HD २९ मंसिर २०८२ ७:०२
अध्यात्म

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ ।

समितिले यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरुको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित गर्दा आउने फरकलाई हेरेर निर्णय गरिने जानकारी दिनुभएको हो । दुई ग्रन्थका आधारमा गरिएको गणितमा आफूले छ घण्टासम्मको फरक पाएको उहाँले सुनाउनुभयो । यसको निर्णयका लागि यसै हप्ता पञ्चाङ्गकारसँग बैठक गरिने समितिले जनाएको छ ।

“सिद्धान्त ज्योतिषका विद्वान् नयराज पन्तले ग्रहण र ग्रहको उदयास्त दृक गणित र पञ्चाङ्ग (पात्रो) सूर्य सिद्धान्तका आधारमा गर्नुपर्ने भन्नुभएको थियो, यो नै सही हो भन्ने मलाई लाग्छ, समितिमा आगामी वर्षका लागि स्वीकृति लिन पेस भएका पञ्चाङ्ग सूर्य सिद्धान्त र केतकी दुवै आधारमा गणना भई आएका छन्”, अध्यक्ष ढकालले भन्नुभयो ।

समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले ग्रह गणितबाहेकका विषय शास्त्रीय आधारमा निर्णय गर्ने गरिएको बताउनुभयो । सूर्यास्तकालमा औँसी भएका दिन लक्ष्मीपूजाको निर्णय गर्दा कुकुर तिहारका दिन पनि पर्ने गरेको बताउनुहुँदै उहाँले शास्त्रले भनेका आधारमा नै यस्तो निर्णय हुने गरेको जानकारी गराउनुभयो ।

अर्का पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले सूर्य सिद्धान्तबाट ग्रहण, उदयास्त, ग्रहको वक्री मार्गी अवस्था आदि नमिल्ने गरेको सुनाउनुभयो । भारतीय ज्योतिषीले सूर्य सिद्धान्तबाट नमिल्ने गरेको सुनाएको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *