पहिलो पटक बिपीका दाजु मात्रिका र दोस्रो पटक अहिलेका सभापति शेरबहादुरले फुटाएका थिए कांग्रेस (भिडियो)
नेपाली कांग्रेस आफ्नो इतिहासमा तेस्रो पटक औपचारिक रूपमा विभाजनको प्रक्रियामा प्रवेश गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना गरिएको विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा पक्षले मान्यता नदिएपछि पार्टी औपचारिक रूपमा विभाजनको बाटोमा अघि बढेको हो। विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाउँदै नयाँ नेतृत्व निर्वाचित गर्दैछ भने संस्थापन पक्षले थापा र शर्मालाई कारबाही गर्ने तयारी गरिरहेको छ।
२००३ सालमा स्थापना भएको नेपाली कांग्रेस २००९ र २०५९ सालमा विभाजन भएको थियो।
२००३ सालमा बी.पी. कोइरालाले देवीप्रसाद सापकोटाको नेतृत्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामबाट बनारसमा पार्टी स्थापना गरेका थिए। त्यतिबेला नेपालमा जहानियाँ राणा शासन सक्रिय थियो र राजनीतिक दल खोल्न समेत नपाइने अवस्था थियो।
२००३ सालमै नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो पहिलो महाधिवेशन गर्यो। कलकत्तामा सम्पन्न पहिलो महाधिवेशनबाट बी.पी. कोइराला कार्यकारी सभापति र टंकप्रसाद आचार्य कार्यकारी अध्यक्ष निर्वाचित भए।
त्यसपछि २००४ सालमा महेन्द्र विक्रम शाह सभापति रहने गरी सुवर्ण शमशेर राणाले नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरे। पछि २७ चैत २००६ मा शाह नेतृत्वको नेप्रका र बी.पी. नेतृत्वको नेराकाको एकीकरणपछि विधिवत् रूपमा नेपाली कांग्रेसको स्थापना भयो।
बी.पी.का दाजुले नै पहिलोपटक फुटाए पार्टी
२००९ सालमा कांग्रेस पहिलोपटक विभाजित भयो।
२००३ सालको विराटनगर मजदुर हडताल र २००७ सालको राणाशासनविरोधी आन्दोलनपछि देशमा प्रजातन्त्र स्थापना भयो। प्रजातन्त्रको घोषणापछि राणा र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त सरकारमा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री बी.पी. कोइराला थिए। भनिन्छ—बी.पी. गृहमन्त्री बनेको कुरा उनका दाजु मातृका प्रसाद कोइरालालाई मन परेको थिएन। बी.पी. र मातृकाबीचको यही आन्तरिक किचलोका कारण मोहन शमशेर नेतृत्वको सरकार ढल्यो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनका बेला मातृका कांग्रेसका सभापति थिए।
२००८ मंसिर १ गते मातृका प्रधानमन्त्री नियुक्त भए। बी.पी. र मातृकाबीचको आन्तरिक मतभेद पार्टी विभाजनको मुख्य कारण बन्यो। सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एकै व्यक्ति सभापति र प्रधानमन्त्री हुन नपाउने भन्दै बी.पी.ले मातृकाको राजीनामा मागे। यसले २००९ सालमा कांग्रेसलाई दुई भागमा विभाजन गरिदियो।
२००९ सालमा जनकपुरमा सम्पन्न कांग्रेस महाधिवेशनबाट बी.पी. कोइराला कांग्रेस सभापतिमा निर्वाचित भए। बी.पी.ले प्रधानमन्त्री पदबाट राजीनामा दिन दिएको निर्देशनलाई अस्वीकार गर्दै मातृकाले पार्टीको कार्यसमितिबाट राजीनामा दिए र आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे। यो विभाजनले कांग्रेसलाई चार कित्तामा पुर्यायो। भद्रकाली मिश्रको नेतृत्वमा जनकांग्रेस, बालचन्द्र शर्माको नेतृत्वमा नेपाली कांग्रेस (वामपन्थी), र मातृकाको नेतृत्वमा राष्ट्रिय प्रजा पार्टी गठन भए।
कांग्रेसको यो फुटको असर २०१० सालमा हुनुपर्ने आम निर्वाचन २०१५ सालसम्म पनि हुन नसक्ने अवस्थामा देखियो। प्रजातान्त्रिक सुधारको सट्टा कांग्रेस २०१० को दशकभर आन्तरिक किचलो, मतभेद र सत्ताकेन्द्रित राजनीतिमा अल्झिरह्यो। नेपाली कांग्रेसको जुट र फुटको क्रम जारी रहँदा स्थापना भएको १० वर्षमै राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपदस्थ गरे।
गिरिजाले फुटाउन लाग्दा किसुनजीले रोके
२०५१ सालमा पनि काङ्ग्रेस विभाजनको अन्तिम चरणमा थियो। त्यतिबेला पार्टी सभापति कृष्णप्रसाद भट्टराई थिए र पार्टी विभाजनको नेतृत्व गिरिजाले गरेका थिए। त्यसको लागि बानेश्वरमा विशेष भेलाको पनि आयोजना गरिएको थियो। तर अन्तिम समयमा भट्टराईले हामीबीच कुनै विमती छैन भन्दै भेला भईरहेको हलमा उपस्थित भएर जय नेपाल भनेपछि पार्टी विभाजन रोकिएको थियो।
देउवाले गरेको दोस्रो विभाजन
२०५९ सालमा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई दोस्रोपटक विभाजन गरे।
२०५० को दशकमा देउवालाई दरबारनजिक मानिन्थ्यो। यही कारणले हुन सक्छ—२०५९ सालमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा पराजित भए पनि देउवा प्रधानमन्त्री बन्न सफल भए। २०५८/५९ सालमा देशमा माओवादी सशस्त्र संघर्ष उत्कर्षमा थियो। यही संघर्षका कारण देशमा संकटकाल घोषणा गरिएको थियो। देउवाले विद्रोही माओवादीलाई दबाउने नाममा २०५९ सालमा संकटकाल लम्ब्याउने निर्णय गरे। तर पार्टीले संकटकाल नलम्ब्याउन स्पष्ट निर्देशन दिएको थियो।
पार्टीको निर्देशन लत्याउँदै देउवाले २०५९ जेठ ८ गते संसदीय निर्वाचनको घोषणा गरे। लगत्तै कांग्रेस केन्द्रीय समितिले उनको निर्णय खारेज गर्यो। त्यसपछि देउवा पार्टी विभाजनतर्फ मोडिए। २०५९ असार २ गते देउवाले ‘असन्तुष्ट समूहको भेला’ भन्दै बोलाएको सभा महाधिवेशनमा परिणत भयो र नेपाली कांग्रेस दोस्रोपटक विभाजित भयो। बानेश्वर महाधिवेशनबाट जन्मिएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) ले गिरिजाप्रसाद कोइरालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्यो।
तेस्रोपटक कांग्रेस फुटको संघारमा
संस्थापन पक्षले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरेपछि कांग्रेस पार्टी जीवनको तेस्रोपटक फुटको संघारमा पुगेको छ।
अहिले विशेष महाधिवेशन पक्षधरले काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि विशेष महाधिवेशनका कार्यक्रम सञ्चालन गरिरहेका छन्, जहाँ नीति र नेतृत्व परिवर्तनबारे महाधिवेशन प्रतिनिधिहरूबीच व्यापक छलफल र बहस भइरहेको छ। मंगलबार मात्रै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका केही सांगठनिक प्रस्तावहरू पारित भइसकेका छन्। उम्मेदवारी दर्तादेखि निर्वाचन कार्यक्रमसम्म तीव्र गतिमा अघि बढिरहेको विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको दाबी गरिएको छ।
अर्कोतर्फ देउवा नेतृत्वको संस्थापन पक्षले अहिले विशेष महाधिवेशनमा जान नसकिने अडान दोहोर्याइरहेको छ। चुनावको मुखमा महाधिवेशन गर्दा पार्टीलाई ठूलो धक्का लाग्ने तर्क गर्दै आएको संस्थापन पक्षले विशेष महाधिवेशनका माग सम्बोधन नगर्दा पार्टी फुटको संघारमा पुगेको हो।
जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर प्रस्थान गरे। खड्काको सभापतित्वमा विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा ४४ दिनसम्म कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो। तर कुनै ठोस निष्कर्ष ननिकाल्दा उत्पन्न विवाद अहिले पार्टी फुटको चरणमा पुगेको छ।
विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जाने अडान दोहोर्याइरहेका छन् भने संस्थापन पक्षले वैशाख २८–३१ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसको प्रतिकारस्वरूप विशेष महाधिवेशन पक्षधर भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको अन्तिम चरणमा पुगेका छन्।
