`

फागुन अन्तिम मंगलबार थानीमाइमा २७ फूलको डोली

Nepal One HD २७ फागुन २०८२ १०:१८
अध्यात्म

तनहुँ । फागुनको चौथो आज (मंगलबार) तनहुँको भानु–७ थानीमाई मन्दिरमा विभिन्न जिल्लाबाट २७ वटा डोली भित्रिएका छन् । तनहुँ, लमजुङ, गोरखा, चितवन र काठमाडौँबाट गरी २७ डोली मन्दिर परिसरमा भित्रिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

डोलीसँगै करिब तीन हजार भक्तजनले मन्दिरमा पुगेर देवीको दर्शन गरेका छन् । भक्तजनको ठुलो सहभागिताले मन्दिर क्षेत्रमा बिहानैदेखि धार्मिक माहोल बनेको समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

सोमबार राति ८५ जना भक्तजनले मन्दिर परिसरमा रातभर जाग्राम बसेर बत्ती बालेका थिए । प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।
उक्त महिनाको मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।

भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीन पटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका दिनमा पूजा अर्चना हुँदै आएको छ ।

समुन्द्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनः निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनः निर्माण गरिएको थियो ।

विसं १८२५ सालबाट यस मन्दिरमा पूजा अर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तरध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजा अर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *