`

ज्योतिष सेवामा एकरुपता ल्याउनुपर्छ : सचिव निरौला

Nepal One HD ५ चैत २०८२ २०:०३
अध्यात्म

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले ज्योतिष सेवामा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको आयोजना तथा नेपाल ज्योतिष परिषद्, विश्व ज्योतिष महासङ्घ, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय ज्योतिष महिला सङ्घको आयोजनामा आज आयोजित ज्योतिष दिवस समारोहमा सचिव निरौलाले ज्योतिष शास्त्रमा ठूलो चुनौती रहेकाले यसको निरुपणका लागि यससँग सम्बन्धित सबै सङ्घसंस्था लाग्नुपर्ने उल्लेख गर्नुभयो । ज्योतिषको नाममा हुने ठगी नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले ज्योतिष परिषद्ले मनाउँदै आएको ज्योतिष दिवसलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अपनत्व लिएको भन्दै धन्यवाद दिनुभयो । नेपाल ज्योतिष परिषद्ले आज देशभर ज्योतिष दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले धर्म, संस्कार, संस्कृति, परम्पराको रक्षा हुने गरी पञ्चाङ्ग निर्माण हुनुपर्ने बताउनुभयो । पञ्चाङ्गको अस्तित्व मेटाउने प्रयास भइरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष खिलनाथ काफ्ले, विश्व ज्योतिष महासङ्घका सभापति देवराज गौतम, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईलगायतले ज्योतिषहरुमाथि विभिन्न समयमा लाग्ने गरेको आरोप मेटाउन यस्ता समारोहबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा २०८० सालदेखि ज्योतिष दिवस समारोहका रुपमा मनाउन सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *