`

प्रश्न मरेको हो?

समिन बरुवाल २५ असार २०८३ १९:१३
फिचर

काठमाडौं। मानिसलाई पृथ्वीका अन्य जीवभन्दा फरक बनाउने सबैभन्दा ठूलो शक्ति के हो? धेरैले उत्तर दिन्छन्- विवेक वा बुद्धि। कसैको फरक मत होला। कसैले भन्लान्- भाषा। कसैले चेतना। तर सबैभन्दा अघि एउटा कुरा आउँछ, त्यो हो- प्रश्न गर्ने क्षमता।

मानिसले प्रश्न गर्न जानेकै कारण उसले आफूलाई, प्रकृतिलाई, समाजलाई र ब्रह्माण्डलाई बुझ्ने प्रयास गर्‍यो। यदि मानिसले कहिल्यै ‘किन?’ नसोधेको भए आगोको प्रयोग हुने थिएन, खेतीको विकास हुने थिएन, विज्ञान जन्मिने थिएन, लोकतन्त्र स्थापित हुने थिएन र आजको आधुनिक सभ्यता पनि निर्माण हुने थिएन। विचार गर्नुहोस् त, यदि प्रश्न नै नभएको भए?

यो त पक्का छ, इतिहासलाई गहिरिएर हेर्दा एउटा निष्कर्षमा पुगिन्छ, मानव सभ्यता उत्तरबाट होइन, प्रश्नबाट अगाडि बढेको हो।

तर आजको समयलाई हेर्दा एउटा असहज प्रश्न उठ्छ। के प्रश्न मर्दै गएको हो? वा अझ गम्भीर रूपमा भन्ने हो भने, के हामीले प्रश्न गर्न छाडेका हौँ?

सामान्यतया प्रश्नको प्रसङ्ग शिक्षा प्रणालीतिर जोडिन्छ। प्रश्न शिक्षा प्रणालीको मात्र प्रसङ्ग होइन। यो समाजको बौद्धिक स्वास्थ्य जाँच्ने ऐना हो। कुनै समाजमा कति विश्वविद्यालय छन्, कति विद्यालय छन् वा कति पुस्तक प्रकाशित भए भन्नेभन्दा पनि त्यहाँ कति प्रश्न बाँचेका छन् भन्ने कुराले त्यस समाजको वास्तविक स्तर निर्धारण गर्छ।

जहाँ प्रश्न जीवित हुन्छ, त्यहाँ अनुसन्धान जीवित हुन्छ। अनुसन्धान जीवित हुन्छ भने नयाँ विचार जन्मिन्छ। नयाँ विचार जन्मिन्छ भने परिवर्तन सम्भव हुन्छ। तर जहाँ प्रश्न मर्छ, त्यहाँ विचारभन्दा विश्वास बलियो हुन्छ अथवा भनौँ, अन्धविश्वास बलियो हुन्छ। अझ वर्तमान समय सापेक्षित भाषामा भन्दा प्रमाणभन्दा प्रचार शक्तिशाली बन्छ र सत्य नै मर्छ।

आज हामी उत्तरको युगमा छौँ। एउटा सानो मोबाइल फोनले केही सेकेन्डमै संसारभरका लाखौँ उत्तर दिन सक्छ। कृत्रिम बुद्धिमत्ताले लेख लेख्छ, गणित हल गर्छ, अनुसन्धानको सारांश निकाल्छ।यसरी ज्ञान प्राप्त गर्न लाग्ने समय इतिहासमै सबैभन्दा कम भएको छ। तर एउटा विडम्बना पनि यहीँ छ। उत्तर सजिलै पाउने बानीले प्रश्न गर्ने संस्कार कमजोर बनाउँदै लगेको छ। हामी उत्तर खोज्न हतारिन्छौँ, तर प्रश्न सही छ कि छैन भनेर एक निमेष पनि सोच्दैनौँ।

अमेरिकी वैज्ञानिक रिचर्ड फाइनम्यानले विज्ञानको आधार नै सन्देह गर्ने साहस भएको बताएका थिए। उनको विचारमा कुनै पनि कुरालाई कसैले भनेको आधारमा स्वीकार गर्नु विज्ञान होइन। विज्ञान त्यहाँ सुरु हुन्छ, जहाँ मानिसले प्रमाण खोज्छ र प्रश्न उठाउँछ। यही कारण विज्ञानले कहिल्यै अन्तिम सत्यको दाबी गर्दैन। प्रत्येक उत्तरलाई अर्को प्रश्नले चुनौती दिन सक्छ। त्यही भएर त विज्ञानको शक्ति उत्तरमा नभई निरन्तर प्रश्न गर्ने क्षमतामा हुन्छ।

विज्ञानकै प्रसङ्गमा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘प्रश्न गर्न कहिल्यै बन्द नगर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’ किनकि प्रश्न गर्ने मानिस परिवर्तन स्वीकार्छ, नयाँ कुरा सिक्छ, आफ्ना विश्वासमाथि पनि पुनर्विचार गर्छ। प्रश्न नगर्ने मानिस भने विस्तारै उत्तरको कैदी बन्छ।

विश्वका उत्कृष्ट शिक्षा प्रणालीहरू आज यही निष्कर्षमा पुगेका छन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले जिज्ञासामा आधारित सिकाइलाई आधुनिक शिक्षाको आधार मानेको छ।

युनेस्कोका अनुसार विद्यार्थीलाई उत्तर कण्ठ गराउनु मात्र शिक्षा होइन। उनीहरूलाई प्रश्न गर्न, अनुसन्धान गर्न, प्रमाण खोज्न र आफ्नै निष्कर्ष निकाल्न सक्षम बनाउनु नै वास्तविक शिक्षा हो।

क्रमशः प्रश्न गर्ने संस्कृति मर्दै गएको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को अन्तर्राष्ट्रिय विद्यार्थी मूल्याङ्कन कार्यक्रम ‘पिसा-२०२२’ ले पनि महत्त्वपूर्ण तथ्य सार्वजनिक गर्‍यो । प्रतिवेदनअनुसार गणित पढाइँदा आफूले नबुझेको विषयमा नियमित रूपमा शिक्षकसँग प्रश्न गर्ने विद्यार्थीको संख्या औसतमा आधाभन्दा कम छ। यसको अर्थ विद्यार्थीहरू धेरै अवस्थामा नबुझे पनि प्रश्न नगरी बसिरहेका छन्।

नेपालको शिक्षा प्रणालीलाई हेर्दा पनि यही समस्या स्पष्ट देखिन्छ। यहाँ अझै पनि उत्तरलाई प्रश्नभन्दा ठूलो मानिन्छ। परीक्षा उत्तरको हुन्छ, जिज्ञासाको हुँदैन। विद्यार्थीले परिभाषा कण्ठ गर्न सक्छ, तर परिभाषामाथि प्रश्न गर्न सक्दैन। पाठ्यपुस्तकलाई अन्तिम सत्यजस्तो प्रस्तुत गरिन्छ। शिक्षकले बोल्छन्, विद्यार्थी सुन्छन्। तर ‘किन?’ भनेर प्रश्न गरिँदैन।

हाम्रो समाजमा एउटा रोचक विरोधाभास छ। सानो बच्चाले दिनमा सयौँ प्रश्न गर्छ। ऊ हरेक कुरा जान्न चाहन्छ। तर उमेर बढ्दै जाँदा प्रश्न घट्दै जान्छ। यसको मतलब जिज्ञासा सकिएको हो? पक्कै जिज्ञासा हराएको होइन; जिज्ञासालाई दबाइएको हो।

सानो बच्चालाई धेरै अभिभावक अझै पनि भन्छन्, ‘धेरै प्रश्न नगर।’ धेरै शिक्षक भन्छन्, ‘पहिले यो उत्तर बुझ।’ धेरै संस्था भन्छन्, ‘यस्तै चल्दै आएको हो।’ यी यिनै जवाफ हुन्, जसले प्रश्नलाई विस्तारै मृत बनाइरहेका छन्।

दार्शनिक सुकरातले प्रश्नलाई सत्यसम्म पुग्ने सेतु भन्थे। उनले मानिसलाई उत्तर दिएर होइन, प्रश्न सोधेर सिकाए। यही सुकरातीय संवाद पद्धति आज पनि विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा प्रयोग गरिन्छ।

यस्तै, लोकतन्त्र पनि प्रश्नमै टिकेको हुन्छ। नागरिकले सरकारलाई प्रश्न गर्छ। पत्रकारले सत्तालाई प्रश्न गर्छ। सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन प्रश्न उठ्न जरुरी छ। यदि प्रश्न गर्ने संस्कार कमजोर भयो भने लोकतान्त्रिक धरातल नै कमजोर हुन्छ। लोकतन्त्रमा प्रश्न गर्नु विद्रोह होइन। हरेक नागरिकको धर्म र उत्तरदायित्व हो।

वर्तमान युगलाई सामाजिक सञ्जालले अर्को चुनौती थपेको छ। सूचना यति धेरै छ कि मानिससँग सबै कुरा पढ्ने समय छैन। परिणामस्वरूप मानिस शीर्षक पढेरै निष्कर्ष निकाल्छ। स्रोत जाँच्दैन। तथ्य खोज्दैन। यही कारण गलत सूचना र अफवाह तीव्र गतिमा फैलिन्छन्। खै प्रश्न? ‘सूचना कहाँबाट आयो?’, ‘प्रमाण के हो?’, ‘अर्को पक्ष के भन्छ?’

क्रमशः प्रश्न मर्दै जाँदा समाज भ्रमको भुमरीमा परिरहेको छ।

अन्ततः वर्तमान समयको सबैभन्दा ठूलो चुनौती उत्तरको अभाव होइन। उत्तर प्रशस्त भेटिन्छ। चुनौती प्रश्नको अभाव हो। विद्यालयले विद्यार्थीलाई उत्तर घोकाउने होइन, प्रश्न गर्न सिकाउनुपर्छ। विश्वविद्यालयले अनुसन्धानलाई केन्द्रमा राख्नुपर्छ। अभिभावकले जिज्ञासालाई विकासको आधार मान्नुपर्छ। राज्यले प्रश्न गर्ने नागरिकलाई लोकतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गर्नुपर्छ।

इतिहास साक्षी छ, हरेक महान् परिवर्तनको सुरुआत प्रश्नबाट भएको थियो। त्यसैले यदि भविष्य बदल्न चाहन्छौँ भने प्रश्न गर्न सिक्नुपर्छ।

अत: एक पटक आफैँलाई सोध्नुहोस् त, तपाईंभित्रको प्रश्न मरेको त छैन?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *