`

आषाढ शुक्ल सप्तमी : पशुपति क्षेत्रमा सुरु गरियो गङ्गामाई रथयात्रा

Nepal One HD ५ साउन २०८३ २०:२४
अध्यात्म

काठमाडौँ – पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरु भएको छ ।

पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ््गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथ यात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।

यो जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरुज्युको पल्टनले सलामी समेत प्रदान गर्ने परम्परा छ । गङ्गामाई जात्राको प्रतीकका रुपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देव मार्गमा परिक्रमा गराइन्छ । आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो । जात्रा आजै समापन हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *